`

शिक्षक महासंघले भन्यो-धैर्य गरौं, आन्दोलनको विजय सुनिश्चित छ

Nepal One HD ५ वैशाख २०८२ ९:३१
प्रमुख खबर

काठमाडौं । नेपाल शिक्षक महासंघले आफूहरुको आन्दोलनको विजय सुनिश्चित रहेको बताएका छन् ।

शुक्रबार सामाजिक संजालमार्फत महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले अरू केही दिन धैर्य र मर्यादित भएर लाग्न आग्रह गरेका हुन् ।

उनले भनेका छन्, ‘अरू केही दिन धैर्य र मर्यादित भएर लागौँ। हाम्रो विजय सुनिश्चित छ।’ उनले आन्दोलनरत शिक्षकहरूलाई अनुशासित, संयमित र मर्यादित हुन आह्वान गरेका छन् ।

अध्यक्ष सुवेदीले आज पनि मध्यान्ह माइतीघर मण्डलामा पुग्न आग्रह गर्दै शिक्षकहरूलाई अरू केही दिन धैर्य गर्न अपील गरेका छन् ।

उनले भनेका छन्, ‘साथीहरू, हामी विजयोन्मुख छौँ। यो घडीमा हामीले झन् अनुशाासित, मर्यादित र संयमित हुन जरुरी छ। आन्दोलन उग्रतामा परिणत भयो भने त्यसले सबभन्दा पहिले आन्दोलनलाई नै खान्छ। हाम्रो आन्दोलन डिरेल्ड (विपथगामी) होस् र तार्किक निष्कर्षमा नपुगोस्, उपलब्धि हात नपरोस् भनेर षडयन्त्र गर्नेहरू पनि थुप्रै छन्। त्यस्ता मान्छे कुन आवरणमा आउँछन्, कुनै ठेगान हुँदैन। त्यसैले हामीले उग्रता र भड्काउबाट आफूलाइ बचाउनुपर्छ। मर्यादा, अनुशासन र शान्तिपूर्ण प्रदर्शन कायम राख्नुपर्छ।’

अध्यक्ष सुवेदीले आन्दोलनस्थलको सरसफाइ र सुरक्षामा अझ बढी सचेत बन्न पनि अनुरोध गरेका छन् । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरु चैत २० देखि काठमाडौं केन्द्रित आन्दोलनमा छन् ।


प्रतिक्रिया