सरकार जनताबाट टाढा हुँदै गएकाले निषेधित क्षेत्रमा प्रदर्शनः अध्यक्ष लिङ्देन


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जनताका कुरा सुनाउने उद्देश्यले निषेधित क्षेत्र तोडेको बताएका छन् ।
आइतबार पक्राउ पर्नुअघि सिंहरबारमा गरेको प्रदर्शनका क्रममा अध्यक्ष लिङ्देनले सरकारले नागरिकका अधिकारलाई खुम्च्याउँदै लगेकाले निषेधित क्षेत्रमा प्रदर्शन गर्नुपरेको बताएका हुन् ।
उनले भने, ‘सरकार जनताबाट टाढा हुँदै जाने अवस्था सृजना भएकाले सरकारको नजिकै गएर प्रदर्शन गरेर सुनाउन भनेर निषेधित क्षेत्रमा कार्यक्रम गरेको हौं । सरकारले सुन्नुपर्छ । प्रदर्शनमार्फत देश दुनियाँले सुन्छ, नागरिकअधिकारवादी संघ संस्थाहरुले सुन्छ।’
उनले लोकतन्त्र र गणतन्त्रको नाममा निरङ्कुशता बढेकोसमेत बताए । उनले तिनकुने घटनाको छानबिनका लागि न्यायिक आयोग गठन र पक्राउ परेका आफ्ना नेता कार्यकर्तालाई रिहा गर्न मागसमेत गरेका छन् । सिंहदरबारमा प्रदर्शनपछि प्रहरीले अध्यक्ष लिङ्देन र प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई पक्राउ गरेको थियो ।