`

घनश्यामलाई विष्णु रिमालको जवाफः खोजेजस्तै–सोचेजस्तै खत्रा पार्टी बनाएर देखादिए हुन्न ?

Nepal One HD १० वैशाख २०८२ ८:४३
प्रमुख खबर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाललाई आफ्नो पार्टीलाई ‘खत्रा’ बनाएर देखाउन चुनौती दिएका छन् ।

महासचिव भुसालले ‘आई लभ यू होइन, हिसाब देऊ केपी बा भन्नुपर्छ’ भनेर गरेको टिप्पणीप्रति रिमालले यस्तो जवाफ दिएका हुन् ।

रिमालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘… तिम्रो त्यो चाल देखेर आज फुरफुरी लाग्यो नि हौ … चल्तीका एक युवा गायकले के सन्देश दिन यो गीत बनाए, त्यो त उनैलाई थाहा होला । तर मलाईचाहिँ आजभोलि चम्कीचम्की, जुल्फी हल्लाई हल्लाई एमाले सहितका प्रमुख दलका नेताहरुप्रति टिप्पणी गर्ने ‘एस’ भनिने ‘त्यस’ पार्टीका महासचिवको ‘फुरफुरी’ले गीत याद आयो । महोदय, साँच्चिकै महासचिव भएको हो नि ?! हो भने– आफ्नै पार्टीलाई चाहेजस्तै– खोजेजस्तै–सोचेजस्तै खत्रा पार्टी बनाएर देखादिए हुन्न ? अब के को लागि यो ल्याङ, ल्याङ ? सन्देशः दोष लगाउन, मुख छोड्न, र, अर्ति उपदेश दिन सजिलो हुन्छ–– गर्न गारो हुन्छ । नोटः आफू चाहिँ खेती नगर्ने तर सँधियारको बाली हलक्क बढेको देख्दा छटपटी भई राती गोरु फुकाएर लगाइदिनेलाई तपाई सामन्ती प्रवृत्ति भन्नुहुन्छ हैन ?’

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा महासचिव भुसालले भनेका थिए, ‘शासकमाथि देखिएको विरोधलाई प्रतिवाद गर्न प्रधानमन्त्रीले वैशाख ११ गते ठुलो मास जम्मा गर्दैछन् । दुर्भाग्य ! जुलुसमा आउनेहरूले पनि आइ लभ यु केपी बा भन्ने होलान् । उनीहरूले आइ लभ यु बा होइन । कमरेड केपी हाम्रो हिसाब देऊ ।’


प्रतिक्रिया