`

सरकारले शिक्षक आन्दोलनमा दमन गरेको भन्दै सांसदहरुको विरोध

Nepal One HD १५ वैशाख २०८२ १२:०१
प्रमुख खबर

काठमाडौं । सांसदहरुले शान्तिपूर्ण रुपमा आन्दोलनमा बसिरहेका शिक्षकहरुमाथि सरकारले दमन गरेको भन्दै आपत्ति जनाएका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा सांसदहरुले सरकारले शिक्षक आन्दोलनमा दमन गर्नुको साटो माग पूरा गर्नेतर्फ ध्याद दिन आग्रह गरेका हुन् ।

बैठकमा नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले शान्तिपूर्ण रुपमा आन्दोलनमा बसिरहेका शिक्षकहरुमाथि सरकारले दमन गरेको बताए ।

उनले भने, ‘शान्तिपूर्ण रुपमा बसिरहेका शिक्षकहरुमाथि पानीको फोहोरा, अश्रुग्यास, लाठी प्रहार गरेर दर्जनौं शिक्षकहरु घाइते हुनुभएको छ । पत्रकार सविना कार्की गम्भीर घाइते हुनुभएको छ । यस्तो अवस्था किन सिर्जना भैइरहेको छ ? सरकारले शिक्षकहरुका माग पूरा गर्नुको सट्टा किन दमन गरिरहेको छ ?’

उनले शिक्षकहरुका मागलाई सम्बोधन गरेर जायज मागहरुलाई पुरा गरेर जानुको सट्टा सरकार मुकदर्शक बनिरहेको बताए ।

त्यसैगरी बैठकमा नेकपा एमालेका सांसद सूर्य थापाले शिक्षकको हिजोको आन्दोलनमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै राष्ट्रसेवकमाथि यस्तो व्यवहार गरिनु उचित नभएको बताए ।

उनले भने, ‘प्रहरी पनि राष्ट्रसेवक हुन्, शिक्षक पनि राष्ट्रसेवक हुन्। राष्ट्रसेवकमाथि आन्दोलनका नाममा गरिने व्यवहार होस् या जेसुकै होस्, यस्तो गर्नु दुःखद हो। यस्तो गर्नु उचित होइन।’

थापाले शिक्षकलाई पनि संयमित हुन आग्रह गर्दै पूर्वघोषित शैली अनुसार नै आन्दोलन जारी राख्न आग्रह गरे । सुरक्षाकर्मीलाई पनि संयमित हुन आग्रह गर्दै थापाले शिक्षामन्त्रीले विधेयकबारे संसद् र देशलाई जानकारी दिनुपर्ने बताए ।

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले राज्य अधिनायकवादर्फ अघि बढेको टिप्पणी गरिन् । उनले आइतबार शिक्षकमाथि राज्यले दमन गरेको भन्दै आपत्ति जनाइन् ।

उनले भनिन्, ‘शिक्षकमाथि राज्यले दमन गर्यो । राज्य अधिनायकवादतर्फ हिँडिरहेको भान भएको छ ।’

सांसद श्रेष्ठले शिक्षकलाई दलको सदस्यता नत्यागे दास बन्ने बताइन् । उनले भनिन्, ‘तपाईंहरू जबसम्म नेपाली जनता मात्रै भएर बस्नुहुन्छ, सिंगो मुलुकको बन्नुहुुन्छ । जब राजनीतिक दल, राजनीतिक दलको सदस्यता लिएर कार्यकर्ता बन्नुहुन्छ, नेताको उठबस भन्ने किसिमको दास बन्नुहुन्छ ।’


प्रतिक्रिया