`

बाँकेमा थप ९३६ जना भूमिहीन दलित तथा सुकुम्बासीलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिँँदै

Nepal One HD २४ वैशाख २०८२ ८:२२
समाज

नेपालगञ्ज- भूमि समस्या समाधान आयोगले बाँकेमा थप ९३६ जना भूमिहीन दलित तथा सुकुम्बासीलाई जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) वितरण गर्ने निर्णय गरेको छ ।

आयोगको कार्यालय, नेपालगञ्जमा आज बसेको सर्वपक्षीय बैठकले दोस्रो चरणमा विभिन्न स्थानीय तहमा जग्गाधनी प्रमाणपत्र वितरण गर्ने निर्णय गरेको हो । आयोगका अध्यक्ष घननाथ खनालले जेठको पहिलो सातासम्म कोहलपुर नगरपालिका वडा नं २, १४, १५, नेपालगञ्ज उपमहानगरपालिका वडा नं १९ र २०, राप्तीसोनारी गाउँपालिका वडा नं ७ र वैजनाथ ६ मा जग्गाधनी प्रमाणपत्र वितरण गरिने जानकारी दिनुभयो । 

उहाँले पहिलो चरणमा कोहलपुर नगरपालिकाका तीन वडामा ११८ जनालाई लालपुर्जा वितरण कार्य सम्पन्न भएको र थपलाई वितरणका लागि प्रक्रिया अघि बढाइएको बताउनुभयो । “आज बसेको राजनीतिक दलसहितको सर्बपक्षीय बैठकले नौवस्ता औद्योगिक क्षेत्रमा रहेको आवास क्षेत्रका लागि लालपुर्जा वितरणका लागि पहल गर्ने निर्णय भएको छ । स्थानीय तहमा आयोगलाई चाहिने स्रोतसाधनको व्यवस्थापन पालिकाले गर्ने निर्णय भएको छ”, अध्यक्ष खनालले भन्नुभयो ।  

केही दिनअघि मात्रै जिल्लाको कोहलपुर नगरपालिका वडा नं १ बाट भूमिहीन दलित र सुकुम्बासीलाई लालपुर्जा वितरण गरिएको थियो । हालसम्म जिल्लामा ५४ हजार हाराहारीमा लालपुर्जाका लागि आवेदन परेको छ । आगामी असारभित्र छ हजार लालपुर्जा वितरण गर्ने लक्ष्य रहेका अध्यक्ष खनालले बताउनुभयो ।  

प्रतिक्रिया