`

‘डिम्यान’ले आयोजना गर्न लागेको ‘उद्यमीमा ऊर्जा, अर्थतन्त्रमा आशा’ कार्यक्रमको तयारी पूरा, प्रधानमन्त्री प्रमुख अतिथि

Nepal One HD २७ वैशाख २०८२ १९:५२
अर्थ समाचार

काठमाडौं । डिजिटल मिडिया अलायन्स नेपाल (DMAN) ले ‘उद्यमीमा ऊर्जा, अर्थतन्त्रमा आशा’ भन्ने मूल नारासहित गर्न लागेको कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ ।

‘शंकर ग्रुप’ को प्रस्तुति तथा विभिन्न निजी क्षेत्रका ब्राण्डहरूको सहकार्यमा आइतबार आयोजना हुने यस कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् ।

सम्मेलनमा तीनवटा फरक–फरक विषयमा केन्द्रित प्यानल छलफल समावेश गरिएको छ । जसमा उद्यमशीलता, ऊर्जा तथा उद्योगको सम्बन्ध र समसामयिक आर्थिक तथा राजनीतिक विषयवस्तुमा बहस गरिनेछ ।

कार्यक्रमले नेपालका युवा उद्यमी, नीति निर्माताहरू, उद्योगी व्यवसायी, तथा राजनीतिक नेताहरूलाई एउटै मञ्चमा ल्याएर समसामयिक आर्थिक चुनौती र सम्भावनाबारे गहन संवाद गर्ने उद्देश्य राखेको छ ।

‘उद्यममा नयाँ पुस्ता’ शिर्षकको पहिलो सत्रमा नेपालका नयाँ पुस्ताका उद्यमशील सोच र योगदानबारे छलफल हुनेछ। यसमा प्यानलिस्टहरू विदुषी राणा, उज्वल श्रेष्ठ, दीपकराज गिरी, छिरिङ लामासँग सञ्जोग कोइरालाले छलफल गर्नेछन् ।

यसैगरी, ‘उद्योगमा ऊर्जाः अर्थतन्त्रमा आशा’भन्ने दोस्रो सत्रमा नेपालको उद्योग क्षेत्रमा ऊर्जा तथा लगानीको भूमिका, सम्भावना र चुनौतीबारे विचार प्रस्तुत गरिनेछ । यसमा प्यानलिस्टहरू उद्योगमन्त्री दामोदर भण्डारी, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, मिनबहादुर श्रेष्ठ, राजुनन्दन मरुसँग सुदेश उपाध्यायले छलफल गर्नेछन् ।

यस्तै, ‘अर्थराजनीति’ सत्रमा आर्थिक नीति र राजनीतिक नेतृत्वको भूमिकामाथि बहस हुनेछ। जसमा प्यानलिष्टहरु पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, वर्षमान पुनसँग सोविता गौतमले छलफल गर्नेछिन् ।

कार्यक्रमलाई नेपालमा समावेशी, तथ्यमा आधारित र युवा केन्द्रित आर्थिक बहसको थालनीका रूपमा हेरिएको छ । कार्यक्रम शंकर ग्रुपको प्रस्तुतिमा टिभीएस मोटर्स, प्रोटोन इभि, जगदम्बा स्टिल्स सहित सौर्य सिमेन्टसँगको सहकार्यमा हुनेछ।


प्रतिक्रिया