नेपालमा पुनः लोडसेडिङ्ग हुँदैन, ढुक्क हुनुस्ः कार्यकारी निर्देशक शाक्य


काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले विद्युत आपूर्तिमा देखिएको समस्यालाई लोडसेडिङ्गसँग जोडेर नहेर्न आग्रह गरेका छन् ।
शुक्रबार पत्रकार सम्मेलन गरी शाक्यले प्राविधिक समस्याका कारण सिर्जना भएको प्रतिकुल अवस्थालाई लोडसेडिङ्गसँग जोडेर नहेर्न आग्रह गरेका हुन् ।
उनले अब इन्भर्टर र मैनबत्तीका दिन आए भन्दै सामाजिक संजालमा अभिव्यक्त भनाइप्रति सत्यता नरहेको बताए ।
उनले भने, ‘मौसमजन्य गतिविधिका कारण विद्युतीय संरचनामा भएको क्षति तथा देखिएको प्राविधिक समस्याका कारण सिर्जना भएको प्रतिकुल अवस्थालाई लोडसेडिङ्गसँग जोडेर अब इन्भर्टर र मैनबत्तीको दिन आए भन्दै सामाजिक संजालमा अभिब्यक्त भनाइप्रति कत्ति पनि सत्यता छैन । नेपालमा पुनः लोडसेडिङ्ग शुरु हुने दिन आउदै नआउने आम उपभोक्तालाई जानकारी गराउँदछौ ।’
त्यस्तै उनले ढल्केवर मुजफरपुर ४०० केभी डवल सर्किट लाइनको दुवै सर्किटमा एक साथ समस्या देखिदा विद्युत अचानक अवरुद्ध हुन पुगेको स्पष्ट पारे ।
उने बेलुकाको समयमा लोड बढ्ने भएकाले आपूर्ति व्यवस्था मिलाउने प्रयास असफल भएको पनि उनले जानकारी गराए ।
उनले भने, ‘ढल्केवर आसपासको क्षेत्रमा अति उच्च वेगका साथ चलेको हावाहुरीको कारण ढल्केवर मुजफरपुर ४०० केभि डवल सर्किट लाइनको दुवै सर्किटमा एक साथ देखिएको समस्याका कारण नेपालमा सो लाइनमार्फत आपुर्ति हँुदै आएको विद्युत अचानक अवरुद्ध हुन पुगेको थियो । दुवै सिर्किटमा आएको समस्या तत्काल समाधान नभएकाले नेपालको मात्र प्रणाली संचालन गरि विद्युत आपूर्ति व्यवस्था मिलाउन प्रयास गरिएको तर बेलुकाको समयमा बढेर आउने लोडको कारण समस्या भयो ।’
विद्युत प्रणालीमा देखिएको समस्या दिर्घकालिन रुपमा समाधान गर्न प्राधिकरण प्रतिवद्ध रहेको भन्दै उनले आगामी दिनमा यस्ता समस्या नदोहोरिनका लागि तत्कालिन मध्यकालिन र दिर्घकालिन योजना बनाइ कार्य गरिरहेको पनि जानकारी दिए ।