चीनको बेइजिङमा नेपालको पर्यटन प्रवर्द्धन


काठमाडौँ । चीनको राजधानी बेइजिङमा नेपालको पर्यटन प्रवद्र्धन गरिएको छ । नेपाल पर्यटन बोर्डले बेइजिङ अन्तरराष्ट्रिय पर्यटन प्रदर्शनी (बीआइटिई) २०२५ मार्फत नेपाल गन्तव्यको प्रवद्र्धन गरेको हो । नेपाल पर्यटक स्वागतका लागि प्रकृति, संस्कृति र साहसिकताको अद्वितीय संयोजनसहित तयार रहेको सन्देश दिइएको छ ।
बेइजिङको चाओयाङ जिल्लास्थित चाइना इन्टरनेश्नल एक्जिविसिज सम्पन्न तीनदिने प्रदर्शनीका क्रममा बोर्डका वरिष्ठ प्रबन्धक सुमन घिमिरेले नेपाल प्रकृति, संस्कृति, साहसिकता र पाहुना सत्कारको अनुपम संयोजनसहित पर्यटक स्वागतका लागि तयार रहेको बताए ।
उनले छिमेकी मुलुक चीन नेपालका लागि पहिलेदेखि पर्यटकीय स्रोत मुलुक भएकाले स्वागतका लागि तयार भएको उल्लेख गर्दै नेपालले कला, संस्कृति, होलिडे, बुद्धिजमलगायत विषयलाई पर्यटन प्याकेजमा राखेकोसमेत उल्लेख गरे ।
२७ जुनदेखि सुरू भएको प्रदर्शनीका क्रममा बोर्डले नेपालको आध्यात्म, सांस्कृतिक विविधता र प्राकृतिक सौन्दर्यलाई सशक्त रूपमा अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गरेको हो ।
प्रदर्शनीमा आएका पर्यटन व्यवसायी र अवलोकनकर्ताहरूले नेपालको सफ्ट एड्भेन्चर, सांस्कृतिक परिपथ, आध्यात्मिक गन्तव्य तथा छोटो अवधीका विश्राम भ्रमणहरूमा गहिरो चासो देखाएको बोर्डले विज्ञप्तिमार्फत जनाएको छ । नेपालप्रति देखिएको विशेष आकर्षणलाई प्रतिविम्बित गर्दै, नेपालको पविलियनलाई ’बेस्ट पपुलारिटी अवार्ड’ समेत प्रदान गरिएको थियो ।
बोर्डका अनुसार पहिलो दुई दिन बीटुबी नेटवर्किङ र अन्तिम दिन बीटुसी अन्तरक्रियालाई लक्षित गरी प्रदर्शनी गरिएको थियो । नेपाल पर्यटन बोर्डले प्रदर्शनीको साइडलाइन सत्रमा एक विशेष गन्तव्य प्रस्तुतीका क्रममा चिनियाँ पर्यटन व्यवसायीसँग सहकार्य गर्दै नेपाली भ्रमणलाई ‘लाइफटाइम एक्सपेरियन्स’ बनाउने सन्देश पनि दिएको छ ।
नेपाल पविलियन यहाँको समृद्ध सांस्कृतिक र ऐतिहासिक सम्पदा, हिमाली रोमाञ्चक अनुभवहरू तथा विविध पर्यटकीय सम्भावनाहरूलाई आकर्षक शैलीमा चित्रण गरिएको थियो । सहभागी निजी पर्यटन व्यवसायीहरूले पनि नेपालका उत्कृष्ट ट्राभल प्याकेजहरू प्रस्तुत गर्दै पर्यटकलाई बहुआयामिक अनुभव दिने क्षमताको बारेमा जानकारी गराएका थिए ।
बीआटीई–२०२५ मा नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, बेइजिङस्थि नेपाली दूतावासका उपनियोग प्रमुख रोशन खनाल, आर्थिक मामिला विभागबाट पार्वती अर्याल तथा अन्य उच्च अधिकारीहरूले नेपाल पविलियन अवलोकन गरेका थिए ।
नेपाली प्रतिनिधिमण्डलले माल्दिभ्स र रुसको सेन्ट पिटर्सबर्गका पर्यटन व्यवसायीसँग द्विपक्षीय पर्यटन प्रवद्र्धनका लागि छलफलसमेत गरेका थिए । बोर्डले आगामी दिनमा यी सम्पर्क र अन्तरक्रियालाई प्रभावकारी कार्यान्वयनमा रूपान्तरण गर्दै बेइजिङलगायत आसपासका सहरहरूबाट नेपाल आउने पर्यटकको सङ्ख्यामा वृद्धि हुने विश्वास लिएको छ ।