झापामा अटो र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु


भद्रपुर (झापा), २१ असारः झापाको मेचिनगर नगरपालिका–१२ माथिल्लो धाइजनस्थित मेची हाइवेमा अटो र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार आज बुधबारेतर्फ जाँदै गरेको प्र१–०१–००२ ह ५५७१ नम्बरको अटो र विपरीत दिशाबाट आइरहेको मे८प ८०३ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक अर्जुनधारा–११ का ३४ वर्षीय भीमबहादुर सार्कीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पु¥याउना साथ चिकित्सकले निजलाई मृत घोषणा गरेका उहाँले बताउनुभयो ।
प्रहरीका अनुसार अटोमा सवार बुद्धशान्ति गाउँपालिका–३ की ४९ वर्षीया निर्मला विक र उनकी १७ वर्षीया छोरी दिपा विक घाइते भएका छन् । घाइते दुवैको चारआलीस्थित बीएण्डके पोलिक्लिनिकमा उपचार भइरहेको प्रनाउ खड्काले जानकारी दिनुभयो । अटो चालक बुद्धशान्ति–१ का ४० वर्षीय युवराज घिमिरेसहित सवारीसाधनलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।