एनआरएनए युवा संयोजकमा अनुपम ढुङ्गानाको उम्मेदवारी घोषणा: विद्यार्थी केन्द्रित प्राथमिकताहरू सार्वजनिक


डार्विन, अस्ट्रेलिया — आगामी २०२५–२०२७ कार्यकालका लागि गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) नर्दन टेरिटोरी (NT) राज्य समन्वय परिषद्को युवा संयोजक पदमा अनुपम ढुङ्गानाले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
सामुदायिक भावना र युवा सशक्तीकरणप्रति गहिरो प्रतिबद्धता व्यक्त गर्दै ढुङ्गानाले हालै अस्ट्रेलिया आइपुगेका नेपाली विद्यार्थीलाई सहयोग, मार्गदर्शन र आत्मविश्वास दिलाउने वातावरण बनाउन आफू कटिबद्ध रहेको बताएका छन्।
“हामी अनुभव र आशाका बीच पुल निर्माण गर्न सक्छौँ—ती जो पहिले बाटो हिँडेका छन् र ती जो अहिले आफ्नो यात्रा सुरु गर्दैछन्,” ढुङ्गानाले भने । “कुनै पनि विद्यार्थी एक्लो महसुस गर्न नपरोस्, सबै युवाको आवाज सुन्ने वातावरण बनोस्।”
गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) नर्दन टेरिटोरी (NT) राज्य समन्वय परिषद्को युवा संयोजक पदका लागि उम्मेदवारी घोषणा गरेका अनुपम ढुङ्गानाले आफ्ना प्रमुख एजेन्डाहरू सार्वजनिक गरेका छन्। उनले विशेष गरी अस्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरूको हित र सशक्तिकरणमा केन्द्रित हुने गरी तीन मुख्य प्राथमिकताहरू अघि सारेका छन्।
विद्यार्थी स्वागत कार्यक्रम (Onboarding Program): नयाँ अस्ट्रेलियन भूमिमा आइपुग्ने नेपाली विद्यार्थीहरूलाई आवश्यक सेवा, सांस्कृतिक घुलमिल र सामुदायिक सञ्जालमा जोड्नका लागि एनआरएनए स्टुडेन्ट एडभाइजरी काउन्सिलसँगको सहकार्यमा विशेष स्वागत कार्यक्रम सञ्चालन गरिनेछ। यस पहलले विद्यार्थीहरूलाई सुरुवाती चरणमा हुने कठिनाइ कम गर्न मद्दत पुग्ने विश्वास गरिएको छ।
मेन्टरसिप नेटवर्क: अनुभव प्राप्त युवा तथा पेसागत व्यक्तित्वहरूसँग नयाँ विद्यार्थीलाई जोडेर मार्गदर्शन प्रदान गर्ने र उनीहरूबीच मित्रताको सम्बन्ध विकास गर्ने लक्ष्य राखिएको छ। यसबाट विद्यार्थीहरूले आफ्नो शैक्षिक तथा पेसागत यात्रामा उचित सल्लाह र प्रेरणा पाउन सक्नेछन् ।
मानसिक स्वास्थ्य र नेतृत्व विकास: विद्यार्थीहरूमा देखिने मानसिक स्वास्थ्य समस्याको पहिचान, यसको महत्त्व र युवा नेतृत्व विकासका लागि नियमित कार्यक्रम तथा कार्यशालाहरू आयोजना गरिनेछ। यस पहलले विद्यार्थीहरूलाई मानसिक रूपमा स्वस्थ रहन र भविष्यका लागि सक्षम नेता बन्न प्रोत्साहित गर्ने ढुङ्गानाको भनाइ छ।