एनआरएनए अष्ट्रेलियाले सदस्यता वितरण प्रक्रिया पुन: सुरु गर्ने


काठमाडौँ – गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाले समावेशी र एकताबद्ध संगठन निर्माणका लागि सदस्यता वितरण प्रक्रिया पुन: सुरु गर्ने भएको छ ।
गैर आवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद् (आइसीसी) ले गठन गरेको उच्चस्तरीय समितिको सिफारिसमा समावेशी, निष्पक्ष र सर्वस्वीकार्य निर्वाचन सम्पन्न गर्न एकता महाधिवेशन आयोजना गर्ने जिम्मेवारी विवेक थापालाई प्रदान गरिएको आइसीसीका महासचिव बीआर लामाले जानकारी दिए ।
महासचिव लामाले वर्तमान कार्यसमितिले समावेशी सदस्यता प्रक्रियामा चासो नदेखाएको र एकपक्षीय निर्णय लाद्न खोजेको कारण महाधिवेशन आयोजक समिति गठन गर्नुपरेको पनि बताए ।
ओसनिया क्षेत्रीय संयोजक (आरसी) इर्साद अहमदले एमआइएस प्रणालीमार्फत सदस्यता लिन नपाएका वा छुटेका करिब १५ हजार भन्दा बढी एनआरएनहरूलाई समेट्ने उद्देश्यले यो प्रक्रिया अघि बढाइएको बताए ।
उनले संवाद, समावेशी सहभागिता र पारदर्शितामार्फत हालको समस्याको समाधान खोज्नुपर्नेमा जोड दिए ।
महाधिवेशनका संयोजक विवेक थापाले एनआरएनए अष्ट्रेलियालाई एकताबद्ध तथा विश्वका उदाहरणीय राष्ट्रिय समन्वय परिषदमध्ये एक बनाउन हातेमालो गर्न अपिल गरे।
गत मे ३–४, २०२५ मा काठमाडौंमा सम्पन्न एनआरएनएको एकता महाधिवेशनले महेश कुमार श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो । सोही महाधिवेशनको भावनालाई आत्मसात गरी अष्ट्रेलियामा पनि सबै पक्षको सहमति र सहभागितामार्फत नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढाइने भएको छ ।