`

एनआरएनए यूकेको अध्यक्ष पदमा राजेन्द्र पुडासैनीले गरे उम्मेदवारी घोषणा

Nepal One HD ३० असार २०८२ १९:५०
प्रवास

लन्डन – एनआरएनए यूकेको अध्यक्ष पदका लागि राजेन्द्र पुडासैनीले उम्मेदवारी घोषणा गरेका छन् ।पुडासैनीले सन् २०२५-२०२७ कार्यकालको लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

एनआरएनए स्थापनामा प्रमुख भूमिका निर्वाह गरेको देश बेलायतमा साथीभाई र अग्रजहरुको सल्लाह बमोजिम आफूले उम्मेदवारी दिने निधो गरेको उनले बताए ।

एकताबद्ध र एउटै एनआरएनए, नेपाली नागरिकताको निरन्तरता, नेपालमा रहेको सम्पत्तिको सुरक्षा, भूतपूर्व ब्रिटिश गोर्खाजको समानता लडाईंमा ऐेक्यवद्धता, एनआरएनएमा नयाँ पुस्ताको सहभागिता, नेपाली कला, साहित्य र संस्कृतिको संवर्धन एवं प्रवर्धन, नेपाली विद्यार्थी र कामदारहरुको अधिकार तथा सुरक्षा जस्ता विषय आफ्नो प्रमुख मुद्दा भएको पुडासैनीले बताए ।

एनआरएनए अभियानमा एकताबद्ध भएर लागे सबै मुद्दा समाधान गर्न सकिने उनले बताए । एनआरएनए यूकेलाई नमुना संस्था बनाउने आफूसंग विशेष ‘रोडम्याप’ भएको उनको जिकिर छ ।

अन्याय अत्याचारविरुद्ध लड्ने र अप्ठेरो परेका मानिसलाई सहयोग गर्ने आफ्नो स्वभाव रहेको बताउंदै पुडासैनीले समाजकै लागि काम गर्ने अठोट व्यक्त गरे ।

आफु निर्वाचित भएमा एनआरएनए केन्द्र तथा एनसीसीहरुलाई पनि एकताबद्ध बनाउन आफुले सक्दो पहल गर्ने उनले बताए।

को हुन् पुडासैनी ?

नुवाकोटको साविक जिलिङ गाउंपालिका २, हाल बेलकोटगडी नगरपालिका ८ का स्थायी बासिन्दा पुडासैनी स्वर्गीय उपेन्द्र पुडासैनी तथा माता लोकमाया पुडासैनीको माइला सुपुत्र हुन् । उनी २५ वर्ष अगाडि बेलायत आएका थिए ।

पढाइकै क्रममा बेलायतको प्रतिष्ठित युनिभर्सिटीबाट एमबीए तथा बीएस्सी अनर्स उत्तीर्ण गरे पछि विगत १५ वर्षदेखि बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) मा उनी कार्यरत छन् । श्रीमती भवानी पुडासैनी, ३ छोरा, २ नाती र १ नातिनीका हजुरबुवा उनी विद्यार्थीकालदेखि नै सामाजिक रुपान्तरणमा क्रियाशील थिए ।

नेपालमा रहंदा सरस्वती बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) सभापति समेत भएका पुडासैनी बेलायतको ट्रेड युनियन आन्दोलनको अग्रणी मोर्चामा रहेर काम गरिरहेका छन् ।बेलायतको सबैभन्दा ठूलो ट्रेड युनियनमध्ये एक जीएमबी नेशनल युनियन लन्डन सेन्टर नर्थको सचिव पदमा रहि उनले श्रमिकहरुको हकहितको पैरबी गर्दैछन् ।

उनले बेलायतस्थित यती नेपाली एसोसिएसन यूकेको दुईपटक महासचिव, प्रवासी नेपाली मञ्च बेलायतको अध्यक्ष लगायत विभिन्न संघसंस्थाको सल्लाहकार हुंदै एनआरएनए अन्तराष्ट्रिय कमिटीको २०२१–२३ मा सदस्य समेत थिए ।

नेपालमा महाभूकम्प, बाढी पहिरोजस्ता प्राकृतिक विपदहरुमा बेलायती स्वास्थ्यकर्मीहरुको नेतृत्व 
गर्दै उनले उल्लेख्य सहयोग गरेका थिए ।

एनआरएनए यूकेको नयाँ कार्यसमिति चयन गर्न २६ जुलाईमा अनलाइनमार्फत चुनाव हुदैछ भने राष्ट्रिय महाधिवेशन २७ जुलाई, २०२५ मा आयोजना गरिदै छ ।”बेलायतको नेपाली समाजलाई एकजुट गर्न र दुइ देश बीचको ऐतिहासिक सम्बन्धलाई जनस्तरमा अरु बढी सुदृढ गर्न मैले सक्दो भूमिका निर्वाह गर्नेछु,”पुडासैनीले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *