देश स्थिरताको बाटोमा गएकाले अब द्रुत सेवा प्रवाह आवश्यक छः उपसभापति खड्का


भेरीगङ्गा (सुर्खेत), ३१ असारः नेपाली कांग्रेसका उपसभापति एवं पूर्वउपप्रधानमन्त्री पूर्णबहादुर खड्काले देशमा स्थिर सरकार बनेकाले अब जनताले अनुभूत गर्ने गरी सेवा प्रवाह आवश्यक रहेको बताउनुभएको छ ।
नेपाली कांग्रेस सुर्खेतद्वारा आज आयोजित सङ्गठन र समसामयिक विषयमा केन्द्रित प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा उहाँले संसद्का दुई ठूला पार्टी मिलेर छ÷छ महिनामा विश्वासको मत लिनुपर्ने अवस्था अन्त्य भई देश स्थिरताको बाटोमा गएको उहाँको बताउनुभएको हो ।
स्थिर सरकारले अब काममा जोड दिनुपर्छ भन्दै उपसभापति खड्काले भन्नुभयो,“दुई ठूला राजनीतिक दलबीचको सहकार्यका कारण देशमा सङ्घीय, प्रदेश र स्थानीय तीनै तहका सरकारहरू स्थिर देखिएका छन् । अब जनतालाई त्यहीअनुसारको डेलिभरी दिन आवश्यक छ ।”
उहाँले हालै सम्पन्न कांग्रेसको सात दिने विस्तारित बैठकलाई ऐतिहासिक भन्दै बैठकमा सङ्घीय, प्रदेश र स्थानीय तहका सरकारहरूको कार्यसम्पादनको समग्र समीक्षा गरिएको बताउनुभयो ।
उपसभापति खड्काले पार्टीभित्रको सङ्गठन सुदृढीकरणका लागि विधानअनुसार केन्द्रीय अनुशासन समितिको निर्णय गरेको र त्यसमा चित्त नबुझेमा केन्द्रीय सभापतिमार्फत कार्यसमितिमा पुनरावेदन गर्न सकिने स्पष्ट व्यवस्था रहेको स्मरण गराउनुभयो ।
उहाँले क्रियाशील सदस्यता वितरण तथा नवीकरणसम्बन्धी कार्यहरू पार्टी विधानअनुसार जिल्ला तहकै अधिकार क्षेत्रभित्र पर्ने भएकाले यी कार्य तत्काल अघि बढाउन निर्देशन दिनुभयो ।