नेपाल संस्कृत विश्वविद्यालयको सिनेट : एक अर्ब ३१ करोडको बजेट स्वीकृत


काठमाडौँ । नेपाल संस्कृत विश्वविद्यालय सभाको ७८ औँ बैठकले आगामी आर्थिक वर्षका लागि रु एक अर्ब ३१ करोडको बजेट तथा कार्यक्रम स्वीकृत गरेको छ ।
प्रधानमन्त्री निवास, बालुुवाटारमा आज प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीका अध्यक्षतामा भएको बैठकमा कुलसचिव प्रा माधव अधिकारीद्वारा प्रस्तुत भौतिक विकाससम्बन्धी लक्ष्य र कार्यक्रममा आधारित आय–व्ययको बजेट पारित भएको हो ।
बैठकमा कुलपति ओलीले संस्कृत नेपालको संस्कृतमा विनय र पात्रतासहित समृद्ध सम्पदा भएकाले यसको संरक्षण र प्रवद्र्धनसहित गुणस्तरीय शिक्षा प्रदान गर्नु यस विश्वविद्यालयको विशेष जिम्मेवारी भएको बताए ।
विश्वविद्यालयका उपकुलपति प्रा डा धनेश्वर नेपालले गुरुकुल प्रणालीको संरक्षण गर्न र विश्वविद्यालयको स्थायी छात्रस्रोत सुनिश्चित गराउन सातै प्रदेशमा ‘एक विद्यापीठ : एक नमुना गुरुकुल’ को अवधारणा अगाडि ल्याइएको बताए ।