`

वीरगञ्ज महानगरमा ट्याङ्करमार्फत खानेपानी वितरण गरिने

Nepal One HD ३२ असार २०८२ १८:१६
समाचार

वीरगञ्ज (पर्सा), ३२ असारः जिल्ला विपद् व्यवस्थापन समितिले मधेश सरकार र अन्य निकायबाट प्राप्त ट्याङ्कर प्रयोग गरी वीरगञ्ज महानगरसहित यहाँका विभिन्न स्थानीय तहमा खानेपानी वितरण गर्ने निर्णय गरेको छ ।

ट्याङ्कर र दमकलबाट नेपाली सेनामार्फत पानी वितरण गर्ने निर्णय समितिले गरेको हो । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले खानेपानी संस्थान र सम्बन्धित वडा कार्यालयसँगको समन्वयमा नेपाली सेनाको श्रीजङ्ग गणले खानेपानीको चर्काे अभाव झेलेका क्षेत्रमा पानी वितरण गर्ने जानकारी दिनुभयो ।

वितरणका लागि आवश्यक पानी उपलब्ध गराउन खानेपानी संस्थानलाई अनुरोध गरिएको छ । बैठकले दीर्घकालीन समाधानका लागि सङ्घीय तथा प्रदेशका सम्बन्धित निकायमा पहलकदमी गर्न अनुरोध गर्ने निर्णय गरेको छ । नेपाल टेलिकमले खानेपानीको अभाव भएका जनताका लागि टोल फ्रि नम्बरको व्यवस्था गर्ने जनाएको छ ।

खानेपानी संस्थानका शाखा प्रमुख प्रवीणकुमार साहले संस्थानले दैनिक ८० लाख लिटर बढी खानेपानी उत्पादन गरेपनि वितरण प्रणाली बजेट अभावका कारण व्यवस्थित हुन नसकेको बताउनुभयो । ‘‘यहाँका खानेपानीका उपभोक्ताले जथाभावि मोटरबाट पानी तान्ने प्रवृत्तिले समस्या देखिएको छ,’’ उहाँले भन्नुभयो, ‘‘पानीको हाहाकार भएपछि पछिल्लो १५ दिनको अवधिमा नयाँ धारा जडान गर्न नौ सय बढी ग्राहकले निवेदन दिएका छन् ।’’

वीरगञ्ज महानगर–२८ का वडाध्यक्ष सरयुग महतो धनुकले आफ्नो वडामा वीरगञ्ज महानगर र खानेपानी मन्त्रालयले एउटा पनि डिप बोरिङ नगरेको गुनासो गर्नुभयो । वडा नम्बर २६ का वडाध्यक्ष शम्भु मिश्रले आफ्नो वडामा पनि खानेपानीको चर्काे अभाव भएकाले ट्याङ्करमार्फत खानेपानी वितरण गर्न जरुरी रहेको बताउनुभयो ।

नेपाल विद्युत् प्राधिकरण वीरगञ्ज वितरण केन्द्र प्रमुख अवधेशकुमार दुबेले प्राधिकरणबाट ग्राहक बनेर मात्रै डिपबोरिङबाट खानेपानी वितरण गर्न सम्बन्धित निकायलाई आह्वान गर्नुभयो । ‘‘टोल–टोलमा हुकिङ गरेर डिप बोरिङ चलाउँदै आइरहेको भेट्टाएका छौंँ । ती डिप बोरिङको स्वामित्व लिएर विद्युत्को मिटर जडान गरेर खानेपानी वितरण गर्नका लागि अनुरोध गर्दछौँ,’’ उहाँले भन्नुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *