`

अडियो काण्डमा मुछिएका मन्त्री अधिकारीले सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै

Nepal One HD १ साउन २०८२ १३:०९
राजनीति

काठमाडौँ । सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तापछि घुस डिलको काण्डमा मुछिएका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले आज पत्रकार सम्मेलन गर्ने भएका छन् ।

३२ लाख घुस रकम लिएको दाबीसहित नयाँ अडियो क्लिप बाहिरिएपछि मन्त्री अधिकारीले आज पत्रकार सम्मेलन गर्ने भएका हुन् ।

दिउसो ३ बजे मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरिएको मन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

पोखरामा १ सय ३५ रोपनी जग्गा व्यक्तिको नाममा ल्याउने लागि परेका व्यक्तिहरूको समूहसँग घुस डिल गरेको अडियो सार्वजनिक भएपछि यसअघि सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले मंगलबारमात्रै राजीनामा दिएका थिए ।

सार्वजनिक नयाँ अडियोमा पोखराको जग्गाका लागि घुस रकम लिनेमा गुप्तासँगै भूमि व्यवस्थामन्त्री बलराम अधिकारी, सामान्य प्रशासन मन्त्रालयका तत्कालीन सचिव अर्जुन पोखरेल, मन्त्री अधिकारीका छोरा मनोज अधिकारीको नाम समेत उच्चारण गरिएको सुनिन्छ ।

अडियोमा जग्गा मिलाउन मन्त्री अधिकारीले छोरामार्फत ३२ लाख लिएको दाबी गरिएको सुनिन्छ भने सामान्य प्रशासन मन्त्री गुप्ताले ३५ लाख र सचिव पोखरेलले ५ लाख लिएको दाबी गरिएको छ । अडियो संवादमा जग्गाका लागि डेढ करोड खर्च भैसकेको सुनिन्छ ।

अधिकारी भने अडिओमा आफ्नो नाम नभएकाले आफू नमुछिने तर्क गरिरहेका छन् । गुप्ताको अडियो आएपछि जुन औँलामा विष लागेको छ त्यही झर्ने उनले बताएका थिए ।

यसैबीच मन्त्री अधिकारीले राजीनामाको साटो आफ्नो मन्त्रालयको एक वर्षे उपलब्धि सार्वजनिक गर्ने तयारी गरेका छन् । आज ३ बजे मन्त्रालयमै पत्रकार सम्मेलन गर्दै उनले आर्थिक वर्ष २०८१/८२ का उपलब्धि सार्वजनिक गर्न लागेका हुन् । सम्भवतः उक्त पत्रकार सम्मेलनमा अधिकारीले अडियो काण्डबारे थप प्रष्टीकरण दिनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *