`

एनआरएनए मलेसियामा एकता अधिवेशन गर्न सहमति, ३० र ३१ अगष्टमा एकताको अधिवेशन

Nepal One HD ५ साउन २०८२ ११:०८
प्रवास

मलेसिया – मलेसियामा रहेका गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको अधिवेशन ३० र ३१ अगष्ट, २०२५ मा गर्न सहमति जुटेको छ ।शनिबार क्वालालम्पुरस्थित होटल ग्रान्ड कन्टिनेन्टलमा आयोजित ‘एकताको निम्ति बृहत् भेला’ मा एकताको अधिवेशन गर्न सहमति जुटेको हो । मलेसियामा रहेका विभिन्न संघसंस्था, गैर आवासीय नेपाली संघ मलेसियाका संरक्षक, पूर्व अध्यक्ष, पदाधिकारी तथा विभिन्न संघ संगठनको सहमतिमा मिति तय गरिएको हो । उक्त सहमतिपछि एनआरएनए मलेसियामा देखिएको विवाद अन्त्य भएको र संस्था अब एकजुट भएको आइसीसी उपाध्यक्ष खगेन्द्र न्यौपानेले बताए ।
सहमति अनुसार ३०–३१ अगष्ट, २०२५ मा अधिवेशन हुने, २१ जुलाईदेखि लागु हुने गरी दुई हप्ताभित्र नयाँ सदस्यता वितरण तथा नवीकरण गरि सक्नु पर्ने र सदस्यता शुल्क २० रिङ्गेट प्रतिव्यक्ति तोकिएको छ ।

‘एकताको निम्ति बृहत भेला’ लाई सम्बोधन गर्दै एनआरएनए आईसीसी उपाध्यक्ष खगेन्द्र न्यौपानेले संस्था फुट्न नदिई सबैलाई समेटेर एकीकृत रूपमा अधिवेशन गर्नुपर्ने बताए । मलेसियाले विश्वभरका एनआरएनएलाई सकारात्मक सन्देश दिएको उनले बताए । उनले केन्द्रमा जेसुकै विवाद रहे पनि मलेसियामा आपसी मेलमिलाप र एकता अपरिहार्य रहेको बताए । “एनसिसि कुनै गुटको होइन । सबै देशका एनसीसीहरु सर्वाधिकार हुन्छन् । मलेसियामा रहेका सबै संघसंस्था र राजनीतिक दलहरू मिलेर साझा अधिवेशन गर्नुपर्छ,” न्यौपानेले स्पष्ट पारे ।

एनआरएनए मलेसियाका निवर्तमान अध्यक्ष विनोद थापाले समस्याको समाधान संवादमार्फत खोज्नुपर्ने आवश्यकता औंल्याए । “समस्या आयो भन्दैमा तिललाई पहाड बनाउनु हुन्न,” उनले भने, “एक अर्कामाथि दोषारोपण गर्नुको सट्टा समाधानतर्फ अघि बढ्नु पर्थ्यो। “अहिले त्यो भएकोले आफू खुशी रहेको उनले बताए ।
एनआरएनए मलेसियाका संरक्षक शंकरबहादुर पौडेलले नेपाली समाजमा आपसी सहयोग, भ्रातृत्व र एकताको संस्कृति रहेको भन्दै एनआरएनएमा पनि त्यही भावना झल्किनुपर्ने बताए ।

एनआरएनए मलेसियाका अध्यक्ष राकेश महतोले पनि बृहत् भेलाको निर्णयप्रति सहमति जनाउँदै विगतका कटु अनुभवहरू बिर्सेर संस्थालाई अघि बढाउनुपर्ने धारणा राखे । समाजभन्दा बाहिर कोही जान सक्दैन, त्यसैले आफुहरु सबै सहमतिमा आएको उनले बताए ।

संस्थाका उपाध्यक्ष इन्द्रबहादुर लिम्बूले दुई अध्यक्षबीच पालैपालो नेतृत्व दिने समझदारी अनुसार अघिल्लो अधिवेशन सम्पन्न भएको भए पनि कार्यान्वयनमा कमजोरी हुँदा समस्या उत्पन्न भएको बताए । “अब विगत कोट्याउने होइन, संस्था समृद्ध बनाउनेतर्फ लागौं,” उनले सुझाव दिए ।

मलेसियाका लागि नेपालका पर्यटन दुत एवं रास्वपा मलेसियाका संयोजक नेत्र केसिले एनआरएनए मलेसियामा नयाँ ऊर्जा र एकताका साथ सहमति भएकोमा खुशी व्यक्त गर्दै अब थप उर्जाका साथ अघि बढ्न आह्वान गरे ।

नेकपा एमाले मलेसियाका अध्यक्ष दयाराम कुमालले केही व्यक्तिका कारण संस्था कमजोर बनिरहेको टिप्पणी गर्दै अब फुट होइन, मिलनको मार्ग अपनाउनुपर्ने आवश्यकतालाई औल्याउँदै संस्था एकजुट भएर अगाडि बढेकोमा आफू खुशी भएको बताए ।
नेकपा माओवादी केन्द्र मलेसियाका अध्यक्ष प्रेम पाण्डेले संवाद नै समस्याको स्थायी समाधान भएको जनाउँदै एनआरएनएको गरिमा कायम राख्न सबैको भूमिका अपरिहार्य रहेको बताए । उनले अहिले देखिएको समस्या समाधान भएकोमा आफू खुशी रहेको बताए ।

एनआरएन मलेसियाका युवा संयोजक राजु लामा, राष्ट्रिय युवा संघ नेपालका प्रतिनिधि मोहन घिमिरे, नेपाल वैदेशिक रोजगार व्यवसायी संघ मलेसियाका अध्यक्ष कमल गौतम, नेकपा एमाले मलेसियाका निवर्तमान अध्यक्ष एबम व्यवसायी शेरबहादुर गुरुङ, व्यवसायी विजय मण्डल, एनआरएनए मलेसियाका उपाध्यक्ष दिलकुमार केरुङ लगायतका वक्ताले साझा मञ्चमार्फत एनआरएनए मलेसियामा नयाँ ऊर्जासहित एकताबद्ध भएर अघि बढ्न आह्वान गरेका थिए ।

आइतबार भएको सहमतिअनुसार अध्यक्ष राकेश महतोको संयोजकत्वमा अधिवेशन समिति गठन गरिने र भब्यताकासाथ अधिवेशन सम्पन्न गराउन जिम्मा दिइएको छ । उक्त सहमतिपत्रमा मलेसियामा रहेका सबै संस्थाले हस्ताक्षर गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *