प्रधानमन्त्रीद्वारा राष्ट्रिय गौरवको पाँचौँ आयोजना उद्घाटन (तस्बिरहरु)


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले रानी जमरा कुलरिया सिँचाइ आयोजनाको सिचाईँतर्फको थप सिँचाइ, जलविद्युत र प्रसारण लाइनको आज उद्घाटन गरेका छन् ।प्रधानमन्त्री ओलीले थप १४ हजार ३०० हेक्टरमा सिँचाई सुविधाको सिँचाइ आयोजना र ४ दशमलव ७१ मेगावाट जलविद्युत तथा प्रसारण लाइनको उद्घाटन गरेका हुन् ।
कैलालीको जानकी गाउँपालिका वडा नं ९ कटासेस्थित सिँचाइ नहरमा विद्युत उत्पादन भएर ३३ केभी प्रसारण लाइनमा जोडिएको छ । राष्ट्रिय गौरवको आयोजना रहेको रानी जमरा कुलरिया सिँचाइ आयोजनाको दोस्रो चरणका कार्यक्रम सम्पन्न भई अब तेस्रो चरणका कार्यक्रम शुरु भएका छन् ।
आयोजनाले विगतमा टीकापुर, लम्कीचुहा र जानकी गाउँपालिकामा सेवा दिँदै आएकामा तेस्रो चरणमा भजनी, जोशीपुर, बर्दगोरिया, घोडाघोडीलगायतका पालिकामा सिँचाइ विस्तार र कृषि उत्पादन वृद्धि गर्नेछ ।
प्रधानमन्त्री ओलीले सो आयोजनालाई नेपालको जलस्रोत तथा ग्रामीण कृषि क्षेत्रको विकासमा ऐतिहासिक उपलब्धि भन्दै यसले नेपालको ग्रामीण जीवनशैली, कृषि उत्पादन, ऊर्जा आत्मनिर्भरता र खाद्य सुरक्षाको चित्रण गर्ने बताए ।
यो निर्माण सम्पन्न भई उद्घाटन भएको राष्ट्रिय गौरवमा सूचीकृत पाँचौँ आयोजना हो । यसअघि अपर तामाकोशी हाइड्रोपावर, मेलम्ची खानेपानी आयोजना, भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न भएको औपचारिक उद्घाटन भएको थियो । यो आयोजनाको इतिहास १२० वर्ष पुरानो छ ।
प्रधानमन्त्री ओलीले १२० वर्षअघिको स्थानीय किसानको सामूहिक प्रयास र परम्परागत सीपबाट सुरु भएको रानी जमरा कुलरिया प्रणालीलाई आधुनिक स्वरूपमा विस्तार गरिएको उल्लेख गर्दै स्थानीय सहभागिता र सरकारको समन्वयबाट आजको सफलताको जग खडा भएको हो भने।
प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवका सिंचाई आयोजना-सिक्टा, बबई, महाकाली तेस्रो, भेरी–बबई र सुनकोशी–मरिन बहुद्देश्यीय आयोजना—यथाशीघ्र सम्पन्न गर्न सम्बद्ध निकायलाई निर्देशन दिए।