`

संसद् भवन निर्माणमा ढिलाइ नगर्न सांसदहरूको आग्रह

Nepal One HD १८ साउन २०८२ १८:२९
राजनीति

काठमाडौँ, १८ साउनः सङ्घीय संसद् भवन निर्माणमा ढिलाइ नगर्न सांसदहरूले आग्रह गर्नुभएको छ । राष्ट्रियसभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आजको बैठकमा उहाँहरूले तोकिएको समयभित्र निर्माण सम्पन्न नभए पनि अब थपिएको म्यादभित्र विलम्ब नगरी भवन निर्माण गर्न आग्रह गर्नुभएको हो ।

बैठकमा सहरी विकास तथा भवन निर्माण विभागसँग निर्माणाधीन संसद् भवनको पछिल्लो अवस्थाबारे छलफल भएको थियो । त्यस क्रममा सांसद मदनकुमारी शाह गरिमाले सिंहदरबारभित्रै समयमा भवन निर्माण सम्पन्न नहुनु दुःखद रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सिंहदरबारभित्रै यस्तो हालत छ भने अरूतिर के होला ? समितिले पटक पटक निर्देशन र ‘फलोअप’ गर्दा पनि संसद् भवन निर्माणले गति लिन सकेन । सबैको चासो हुँदा पनि काम नहुनुले हाम्रो काम गर्ने शैली र प्रतिबद्धतामाथि नै प्रश्न उठेको छ ।”

सांसद पदमबहादुर परियारले थपिएको म्यादभित्र पनि भवनको काम सम्पन्न हुनेमा विश्वस्त हुन सक्ने आधार नदेखिएको धारणा राख्नुभयो । “निर्माण कम्पनीले एक वर्षको समय माग गरेको थियो, तर ६ महिना म्याद थपिएको छ । के यो समयभित्र साँच्चिकै काम सकिन्छ त ? समयभित्र काम हुन्छ भन्ने विश्वास गर्न कठिन छ”, उहाँले भन्नुभयो । संसद् भवनको डिजाइन पनि अपाङ्गतामैत्री नभएको सांसद परियारको भनाइ थियो ।

सांसद रेणु चन्दले संसद् भवन निर्माण गरिराख्दा सदनमा प्रतिनिधित्व गर्ने ३३ प्रतिशत महिलालाई ध्यान राखेर बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “भवन निर्माण गर्दा अपाङ्गमैत्री, महिलामैत्री छ वा छैन त ? स्तनपान कक्ष, शौचालयमालगायत उपयुक्त सुविधा हुनुपर्छ ।”

भवन निर्माण विभागका महानिर्देशक इन्जिनियर मचाकाजी महर्जनले निर्धारित म्यादभित्र निर्माण सम्पन्न गर्न प्रयास भइरहेको बताउनुभयो । उहाँले निर्माण व्यवसायीबाट क्रमिक रूपमा जनशक्तिको सङ्ख्या बढाउँदै लगिएको जानकारी दिनुभयो । निर्माण कार्यमा आएका समस्या छिटो समाधान गर्न आयोजना कार्यालय, परामर्शदाता र निर्माण व्यवसायीबीच साप्ताहिक रूपमा त्रिपक्षीय बैठक बसेर काम अगाडि बढाउने गरिएको महानिर्देशक महर्जनको भनाइ थियो ।

विसं २०७६ असोज १६ गते भवन निर्माण सम्झौता हुँदा अन्तिम म्याद २०७९ असोज १६ गते रहेको थियो । उक्त अवधिमा निर्माणसम्पन्न हुन नसक्दा २०८२ पुस १६ गतेसम्म पाँचाँैपटक म्याद थपिएर काम भइरहेको छ । भवनको हालसम्म भौतिक प्रगति ८६ प्रतिशत रहेको छभने भवन ‘इन्टेरियर’ गर्ने कार्यको भौतिक प्रगति २१ प्रतिशत मात्र रहेको छ ।

बैठकमा सिंहदरबार ग्यालरी बैठक पुनर्निर्माणको अवस्थाबारे पनि छलफल भएको थियो । ग्यालरी बैठक पुनर्निर्माणका लागि विसं २०८१ जेठ ६ मा सम्झौता भई आगामी मङ्सिर ६ सम्म निर्माणसम्पन्न हुने लक्ष्य छ । विभागका अनुसार हालसम्म २५ प्रतिशत भौतिक प्रगति र २२ प्रतिशत वित्तीय प्रगति रहेको त्यस अवसरमा जानकारी दिइयो ।

विभागका उपमहानिर्देशक सुनिलकुमार ठाकुरले ‘रेट्रोफिटिङ’ कार्य सुरु गर्न गारो प्लास्टर निकालिएको र जगको प्रबलीकरणका लागि ‘माइक्रोपाइलिङ’को काम सम्पन्न भई अन्य कार्य भइरहेको जानकारी गराउनुभयो । “निर्माण कार्यबाट निस्केको माटो तथा अरू नचाहिने सामग्रीको उचित व्यवस्थापन गर्न कठिनाइ भएको छ । रेट्रोफिटिङ कार्य आफैँमा जटिल कार्य हो । ग्यालरी भवनको मौलिकतालाई कमभन्दा कम क्षति पु¥याएर काम गर्नुपर्ने भएकाले सोचेकोभन्दा धेरै समय लाग्ने देखिन्छ”, उहाँले भन्नुभयो ।

काठमाडौँ उपत्यकाका विभिन्न राणाकालीन सभ्यता, कला र वास्तुकला र प्रविधिलाई प्रतिनिधित्व गर्ने यस भवनको ऐतिहासिक महत्त्व र मौलिकपना कायम हुनेगरी भवनको प्रबलीकरण गरिने विभागले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *