मन्त्री शाहीको नर्वे भ्रमण औपचारिक र उद्देश्य केन्द्रितः वन मन्त्रालय


काठमाडौँ, १९ साउनः वन तथा वातावरण मन्त्रालयले मन्त्री ऐनबहादुर शाही ठकुरीको नर्वे भ्रमण औपचारिक तथा उद्देश्य केन्द्रित रहेको जनाएको छ ।
मन्त्रालयले आज विज्ञप्तिमार्फत उहाँको भ्रमणका सम्बन्धमा प्रकाशित समाचार तथा टिप्पणीप्रति स्पष्ट पार्दै भ्रमणले नेपाल–नर्वेबीच कूटनीतिक सम्बन्ध सुदृढ गर्नमा थप योगदान पुग्ने उल्लेख गरेको छ ।
‘यही साउन ९ देखि १४ गतेसम्म नर्वेमा आयोजना भएको सहयोग सवलीकरण कार्यक्रममा मन्त्रालयलाई सहभागिताका लागि इंगल्यान्ड विश्वविद्यालयबाट असार २० गते डेनमार्कस्थित नेपाली दूतावास तथा परराष्ट्र मन्त्रालयमार्फत औपचारिक निमन्त्रणा आएको थियोे,’ विज्ञप्तिमा उल्लेख छ ।
सोही निमन्त्रणाका आधारमा मन्त्रालयबाट मन्त्रिपरिषद्मा प्रस्ताव पेस भई नेपाल सरकार मन्त्रिपरिषद्बाट असार २३ गते नेपाल सरकारलाई कुनै थप आर्थिक दायित्व नपर्ने गरी सहभागी हुन वनमन्त्री शाहीलाई स्वीकृति प्रदान गरिएको थियो ।
सोहीबमोजिम भ्रमण कार्यक्रममा मन्त्री शाही नर्वे भ्रमणमा जानुभएको र उक्त कार्यक्रममा भ्रमण खर्च आयोजकबाट नै व्यहोरिएको तथा अन्य खर्च व्यक्तिगत तवरबाट भएकाले यसमा सरकारलाई कुनै आर्थिक दायित्व नपरेको मन्त्रालयले स्पष्ट पारेको छ ।
उपरोक्त भ्रमण कार्यक्रम सो विश्वविद्यालय र राष्ट्रिय प्रकृति संरक्षण कोषसँगको साझेदारिता प्रवर्द्धनका सन्दर्भमा महत्त्वपूर्ण रहेको मन्त्रालयले जनाएको छ ।
यसैगरी भ्रमणका क्रममा मन्त्रालयस्तरीय र उच्च शैक्षिक संस्थासँग भएका अन्तरक्रियाले नेपालको संरक्षण उपलब्धिप्रति आपसी सहकार्य र सद्भाव बढाएको र पारिस्थितिकीय प्रणालीमा गरिने अनुसन्धान र जैविक विविधता संरक्षणमा नेपाल–नर्वे सहकार्यलाई थप मजबुत बनाउने बलियो आधार तयार गरेको बताइएको छ ।