`

बेरुजु फछ्र्यौट र रुग्ण ठेक्का व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राख्न मन्त्री दाहालको निर्देशन

Nepal One HD २२ साउन २०८२ २१:५९
राजनीति

काठमाडौँ, २२ साउनः भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पूर्वाधार निर्माणसँगै बेरुजु फछ्र्यौट र रुग्ण ठेक्का व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राख्न निर्देशन दिनुभएको छ ।

सडक विभागको गत आर्थिक वर्षको कार्यसम्पादनको समीक्षा कार्यक्रमको आज समापनसत्रमा उहाँले कार्यसम्पादनका हरेक चरणमा आर्थिक सुशासन कायम गर्न निर्देशन दिनुभएको हो । गुणस्तरीय निर्माणलाई अघि बढाउन विभागअन्तर्गत रहेका प्रयोगशालाको क्षमता विकास गरी पूर्ण रुपमा सञ्चालनको वातावरण बनाउन उहाँले निर्देशन दिनुभएको मन्त्री दाहालको सचिवालयले जनाएको छ ।

पुल निर्माणका क्षेत्रमा देखिएका समस्यालाई मन्त्रालयले गम्भीर रुपमा लिएको भन्दै मन्त्री दाहालले समस्याग्रस्त पुलको निर्माण अघि बढाउन विशेष ध्यान दिन आवश्यक रहेको बताउनुभयो ।

राष्ट्रिय गौरवका आयोजना, राष्ट्रिय महत्वका योजना, रुपान्तरणकारी कार्यक्रमजस्ता विशेष महत्वका क्षेत्रमा स्रोतसाधनको अभाव हुन नदिनेसमेत उहाँले प्रतिबद्धता जनाउनुभयो ।

यस्तै उत्तर दक्षिण राजमार्ग, त्रिदेशीय करिडोर, राजस्व सङ्कलनमा सहयोग पुग्ने संरचना, कृषिउपजको बजारीकरणलगायतमा सहयोग पुग्ने आयोजना, योजनामा विशेष ध्यान दिइने उहाँको भनाइ थियो ।

मन्त्रालयका सचिव केशवकुमार शर्माले दसैँअघि नै देशभरिका सडक खाल्डारहित बनाउने काम अघि बढाउन निर्देशन दिनुभयो । गत आर्थिक वर्षको पुँजीगत खर्चको नतिजाबाट उत्साही मात्र नभई थप नतिजा आउनेगरी काम गर्न उहाँको निर्देशन थियो ।

त्यस अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने विभिन्न कार्यालय, कार्यालय प्रमुख तथा निर्माण व्यवसायीलाई पुरस्कृत गरिएको थियो । दुई दिनसम्म सञ्चालन भएको कार्यक्रममा सडक विभागअन्तर्गतका देशभरिका कार्यालय प्रमुख, दातृनिकायका प्रतिनिधि तथा सरोकार राख्ने अन्य कार्यालयका प्रतिनिधिको सहभागिता रहेको सडक विभागका महानिर्देशक डा विजय जैसीले जानकारी दिनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *