`

नयाँ संसद भवनमा विगतका कमजोरी दोहोरिन नदिने गरी मन्त्रालयले काम गरिररहेको छः कार्यवाहक प्रधानमन्त्री सिंह

Nepal One HD २३ साउन २०८२ १४:१५
राजनीति

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सिंहदरबारभित्र निर्माणाधीन सङ्घीय संसद् भवनको काममा विगतका कमीकमजोरी दोहोरिन नदिने गरी काम भइरहेको बताएका छन् ।

सङ्घीय संसद्को राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठकमा सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवन निर्माणको हालको कार्यतालिका र सो कार्यतालिका कार्यान्वयन सुनिश्चित गर्ने मन्त्रालयको तयारी सम्बन्धमा आज भएको छलफलका क्रममा कार्यवाहक प्रधानमन्त्री सिंहले समयमै काम सक्न निर्माणमा संलग्न व्यवसायीलाई निर्देशन दिए ।

समितिका सदस्यहरुले उठाएका जिज्ञासाको जवाफ दिँदै कार्यवाहक प्रधानमन्त्री सिंहले नयाँ संसद् भवन निर्माणको काममा लापरवाही गर्ने सरोकारवाला निकायको पटक–पटक ध्यानाकर्षण गराइएको जानकारी दिए । थप गरिएको अवधिभित्रै काम सक्ने गरी विश्वसनीय कार्ययोजनाअनुसार अहिले काम भइरहेको र सो कार्यको मन्त्रालय तथा विभागबाट अनुगमन भइरहेको उनले बताए ।

“नयाँ संसद् भवनको काम समयमै नसकिएकोबारे सबै जानकार छौंँ । तोकिएको समयमा काम नगर्नेमाथि मन्त्रालयले कडाइ गरिरहेको छ । काम भइरहेको छ । संसद् भवनको काम पनि कार्यतालिका बनाएर अघि बढेको छ । सरकारले विगतका कमी, कमजोरीलाई नियालेर उक्त कमजोरी अब दोहोरिन नदिने गरी काम गरिररहेको छ,” उनले भने । काम समयमै सक्न मन्त्रालयदेखि सम्बन्धित इञ्जिनीयर, महानिर्देशक र आयोजना प्रमुखलाईसमेत बोलाएर निर्देशन दिइसकेको कार्यवाहक प्रधानमन्त्री सिंहले बताए ।

मन्त्रालयका सचिव गोपाल सिग्देलले गत वर्ष पुस दोस्रो साता सम्पन्न गर्नेगरी कार्यतालिका बनाएर काम भइरहेको जानकारी दिए । आउने अधिवेशन नयाँ संसद् भवनबाटै सञ्चालन गर्ने गरी काम भइरहेको उल्लेख गर्दै उनले तालिकाअनुसार काम अघि बढ्नेमा आफू विश्वस्त रहेको बताए । समितिका सदस्यहरुले आउने अधिवेशन नयाँ संसद् भवनबाट सञ्चालन गर्ने गरी काम सक्नुपर्नेमा जोड दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *