भारतस्थित नेपाली दूतावासले भन्यो-उत्तराखण्डमा हालसम्म कोही नेपाली मृत फेला परेका छैनन्


काठमाडौं । भारतस्थित नेपाली दूतावासले उत्तराखण्ड प्रदेशको उत्तरकाशीमा आएको बाढीपहिरोमा हालसम्म नेपाली नागरिक मृत फेला नपरेको जानकारी दिएको छ।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै दूतावासले बाढी पहिरोमा बेपत्ता भएपनि हालसम्म कुनै पनि नेपालीको शव फेला नपरेको स्पष्ट पारेको छ। दूतावासले बाढी प्रभावित क्षेत्रमा रहेका नेपालीहरूको अवस्था,हराइरहेका नेपालीको खोजी तथा उद्दारका लागि नेपाली दूतावासले निरन्तररुपमा उत्तरखण्ड सरकारका सम्बन्धित निकाय र भारतको विदेश मन्त्रालयसँग समन्वयन गरिरहेको जनाएको छ।
उत्तराखण्ड प्रहरीले दूतावासलाई उपलब्ध गराएको विवरणअनुसार साउन २० गते आएको पहिरोमा परेकामध्ये हालसम्म ३७२ जनाको सकुशल उद्धार गरिएको छ भने घटनास्थलबाट दुईजनाको शव निकालिएको नेपाली दूतावासले जनाएको छ । उद्धार गरिएका र मृत्यु भएकामध्ये कुनै पनि नेपाली नागरिक नरहेको दूतावासले जनाएको छ ।
त्यसै गरी, उत्तराखण्डको पौडी गढवाल जिल्लाको बागोडामा साउन २१ गतेमा आएको बाढीपहिरोमा पाँचजना नेपाली हराइरहेको दूतावासलाई विवरण प्राप्त भएको छ । घाइते भएका चारजना नेपालीमध्ये तीनजना घर फर्किसकेका छन् भने एकजनाको स्थानीय अस्पतालमा उपचार भइरहेको दूतावासले जनाएको छ ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाली दूतावासलाई उत्तराखण्डमा हराएका नेपाली नागरिकहरूको खोजी तथा उद्धारका लागि भारतसँग समन्वय गरेर तदारुकताका साथ लाग्न निर्देशन दिएकी थिईन् ।
उनकै निर्देशनपछि तदारुकता देखाएको भारतस्थित नेपाली दूतावासले भारतको उत्तराखण्ड प्रदेशको उत्तरकाशी जिल्लामा आएको बाढीपहिरोमा हालसम्म नेपाली नागरिक मृत फेला नपरेको जानकारी दिएको हो ।