अवैध रूपमा भित्रिने माछाका कारण किसान समस्यामा


कैलाली । यहाँको खुला सिमानाकाबाट अवैध रूपमा भित्रिने भारतीय माछाका कारण स्थानीयस्तरमा माछापालन गर्दै आएका किसान समस्यामा परेका छन् । यहाँ उत्पादित माछाले उचित मूल्य पाउन नसकेपछि किसान समस्यामा परेका हुन् ।
यहाँ उत्पादित माछा बिक्रीका लागि बजारको समस्या नभए पनि जिल्लाका विभिन्न सिमानाकाबाट अवैध रूपमा भारतीय माछा भित्रिने गरेकाले उचित मूल्य प्राप्त हुन नसकेको कैलारी गाउँपालिका–५ गोबरेलाका कृषक सनोज चौधरीले बताए । उनले भने, “बाहिरबाट भित्रिने माछाका कारण हामीले चाहेको मूल्यदरमा बिक्री गर्न सकिरहेको छैनौँ, यसले व्यापार व्यवसाय सञ्चालनसँगै आर्थिक व्यवस्थापनमा समस्या भएको छ ।”
यहाँ उत्पादित माछा थोकमा प्रतिकिलो २५० र फुटकरमा प्रतिकिलो रु ३०० मा बिक्री हुने गरेको जनाउँदै चौधरीले सिमानाकाबाट भित्रिएका माछा थोकमा प्रतिकिलो २२० र फुटकरमा प्रतिकिलो २८० मा बिक्री हुने गरेको बताए । “हामीले उत्पादन गरेका माछाको दररेटभन्दा भारतबाट ल्याइएका माछा सस्तो पर्न जान्छ । सोही कारणले व्यावसायिक माछापालन गर्ने किसानद्वारा उत्पादित माछाले उचित मूल्य नपाउँदा समस्या भएको हो”, उनले भने ।
माछापालनका लागि तीन वटा पोखरी निर्माण गरेको बताउँदै चौधरीले कमन कार्प, ग्रास, रहु र पङ्गासेस जातका माछापालन गर्दै आएको जानकारी दिए ।