`

बलान नदीमा डुबेर १४ वर्षीय बालक बेपत्ता

Nepal One HD २७ साउन २०८२ ६:०२
समाज

सिरहा, २७ साउनः यहाँको सखुवानन्कारकट्टी गाउँपालिका–३ स्थित परीयारपुरका शिवकुमार यादवका १४ वर्षीय घनश्याम यादव बलान नदीमा डुबेर बेपत्ता भएका छन् ।

सोमबार बिहान नुहाउने क्रममा डुबेका घनश्यामको खोजी कार्य जारी रहे पनि साँझसम्म फेला परेका छैनन् । बिहानैदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीसहित खोजतलासमा तालिम प्राप्त विपद् व्यवस्थापन टोली परिचालन गरिएको सशस्त्र प्रहरी बल नं ७ गणका प्रमुख, सशस्त्र प्रहरी उपरीक्षक नरेश भण्डारीले जानकारी दिनुभयो ।

बलान नदीको पानी धमिलो हुनुका साथै बगेर आउने बालुवाको थुप्रोले खोजीमा कठिनाइ उहाँले बताउनुभयो । “नदीमा अत्यधिक बालुवा जमेको छ, जसले बालकलाई पुरेको हुनसक्ने अनुमान गरेका छौँ”, उहाँले भन्नुभयो ।

नदीको बहाव, पानीको गहिराइ र जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बलले प्रदेश कार्यालय बर्दिबासमार्फत गोताखोर टोलीको माग गरेको थियो । सो टोली सोमबार बिहान मात्र घटनास्थलमा पुग्ने जनाइएको छ ।

नदीले बालकलाई बगाएर भारतीय सीमा पार गराएको हुनसक्ने सम्भावनालाई ध्यानमा राख्दै भारतीय सुरक्षाकर्मीसँग समन्वय गरिएको भण्डारीले बताउनुभयो । बालक बेपत्ता भएपछि गाउँ शोकमा डुबेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *