`

राष्ट्रियसभा बैठकः ‘कृषकलाई समयमै मल उपलब्ध गराउ’

Nepal One HD ३० साउन २०८२ १३:५७
राजनीति

काठमाडौँ । राष्ट्रियसभाको शून्य समयमा सांसदहरुले किसानलाई तत्काल मल उपलब्ध गराउनुपर्ने, ज्येष्ठ नागरिकले सहजै भत्ता पाउनुपर्ने लगायत माग गरेका छन् ।

बैठकमा सांसद गोपीबहादुर सार्की अछामीले प्रतिवर्ष १५ लाख मेट्रिकटन मल आवश्यक भए पनि तीन लाख मेट्रिकटन मात्रै उपलब्ध भएको तथा पाँच लाख मेट्रिकटन मल अवैध रुपमा भित्रिने गरेको भन्दै यस विषयमा गम्भीर हुन सरकारको ध्यानाकर्षण गराए ।

सांसद सुमित्रा विसीले बर्खायाम सकिन लाग्दा पनि रोपाइँ नसकिएको र प्रतिकिसान २५ किलो मल दिने भनिए पनि नपाएर खाँली हात फर्कने गरेको उल्लेख गर्दै स्थायी रुपमा यो समस्या समाधान गर्न सरकारसँग माग गरेकी छिन् ।

सांंसद इन्दिरादेवी गौतमले बेरोजगारीका कारण युवामा मानसिक समस्या बढ्दै गएकाले मानसिक स्वास्थ्य उपचारतर्फ ध्यान दिन आग्रह गरेकी छिन्।

सांसद जगप्रसाद शर्माले आयुर्वेद विज्ञानका हिसाबले नेपाल सम्भावना बोकेको देश भएको र २०२९ सालदेखि त्रिभुवन विश्वविद्यालयले आयुर्वेदिक शिक्षण अस्पताल सुरु गरी उपचार गर्दै आए पनि अहिलेसम्म कुनै दरबन्दी नहुँदा सेवा दिन समस्या भएकाले यसतर्फ ध्यान दिन सरकारसँग माग गरेका छन् ।

सांसद तुलसाकुमारी दाहालले मधेस प्रदेशमा कायमै रहेको दाइजोप्रथा र बालविवाह हटाउन आवश्यक रहेकोमा जोड दिए ।

सांसद मायाप्रसाद शर्माले ज्येष्ठ नागरिकले उहाँहरु बस्दै आएको ठाउँबाट भत्ता लिने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराए ।

सांसद शारदादेवी भट्टले कैलाली कारागारमा भएको घटनाप्रति खेद व्यक्त गर्दै १४० जनाको क्षमता भएको स्थानमा चार / पाँच सय राख्दा यस्तो अवस्था आएको हुनाले देशभरका सबै जेलको स्तरोन्नति गर्न सरकारको ध्यानाकर्षण गराए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *