`

विशेषज्ञ आयुर्वेद चिकित्सक समाजमा नयाँ नेतृत्व, सभापतिमा डा पुनेश्वर केशरी

Nepal One HD ३१ साउन २०८२ १३:२८
समाचार

काठमाडौँ । विशेषज्ञ आयुर्वेद चिकित्सक समाज नेपालको तेस्रो राष्ट्रिय अधिवेशनले दुईवर्षे कार्यकालका लागि डा पुनेश्वर केशरीको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ ।

राजधानीमा शुक्रबारदेखि सुरु भएको समाजको अधिवेशनले नयाँ नेतृत्व निर्विरोध निर्वाचित गरेको सभापति केशरीले जानकारी दिए । कार्यसमितिको उपसभापतिमा डा निर्मल भुसाल, सचिवमा डा निश्चल गुप्ता, कोषाध्यक्षमा डा मदन भण्डारी निर्विरोध निर्वाचित भएका हुन्।

यसैगरी समाजको सदस्यहरुमा डा काजल झा, डा विशुनदयालप्रसाद पटेल, डा साधना पराजुली र डा प्रशन्न नेपाल निर्वाचित भएका छन्। अधिवेशनको शुक्रबार विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालय परिषद्का अध्यक्ष डा अर्जुन कार्कीले उद्घाटन गरेका थिए । समाजको स्थापना विसं २०६५ मा भएको हो ।

हाल नेपालमा आयुर्वेदका १८७ जना विशेषज्ञ चिकित्सक छन् । आयुर्वेदका विशेषज्ञ चिकित्सकलाई एलोपेथिकभन्दा फरक व्यवहार गरिएपछि तिनलाई उपयुक्त काम गर्ने अवसर दिने उद्देश्यले समाजको स्थापना भएको संस्थापक अध्यक्ष डा देवकला भण्डारीले जानकारी दिए ।

करिब एक दशकसम्म भने समाज निष्क्रिय रहेकाले केशरीको संयोजकत्वमा तदर्थ समिति गठन गरी तेस्रो अधिवेशनबाट समाजलाई निरन्तरता दिइएको जनाइएको छ । समाजले नेपालमा आयुर्वेदको प्रवर्द्धनका लागि सरोकार भएका निकायसँग सहकार्य गरी काम गर्ने सभापति केशरीरले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *