स्थानीय शासन कार्यसम्पादनमा बागलुङ नगरपालिका अब्बल


बलेवा । बागलुङ नगरपालिका स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन प्रणालीमा अब्बल बनेको छ ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका कार्यसम्पादन महाशाखा प्रमुख रेमलाल कँडेलले बागलुङ उत्कृष्ट बनेको जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष २०८०/८१ को मूल्याङ्कनमा नगरपालिका उत्कृष्ठ बनेको हो ।
यसअघि स्थानीय तहको समग्र पक्षको मूल्याङ्कन प्रणाली (लिजा), स्थानीय तहको वित्तीय सुशासन संरचना गर्ने प्रणाली (एफआरए) र स्थानीयय आर्थिक विकासको प्रवर्द्धनमा सहयोग गर्ने प्रणाली (एलइडी) को मूल्याङ्कनमा नगरपालिका अब्बल बनेको हो ।
‘औपचारिक घोषणा भने यही भदौ ६ गते हुनेछ तर नगरपालिका प्रदेशस्तरमै पुरस्कृत बन्ने भएको छ ’ महाशाखा कँडेलले भने, ‘सूचक अनुसारको काम, गरेका कामको समयमा अपलोड गर्ने र आर्थिक विकास तथा वित्तीय विकासलाई चुस्त बनााउन सकेको छ ।’
तीनवटा प्रणालीलाई मन्त्रालयले चालु वर्षदेखि भने स्थानीय शासन कार्यान्वयन मूल्याङ्कन प्रणाली (एलजी–पास) नामाकरण गरेको छ । उक्त प्रणालीले तीनवटै क्षेत्रलाई एकरुपतामा हेर्ने गर्छ । जस अनुसार ५ शीर्षकमा दुई दर्जनबढी उपशीर्षकमा अध्ययन गरेर कार्यसम्पादन मूल्याङ्कन गर्न थालेको हो ।
सुशासन तथा संस्थागत विकास, सामाजिक विकास, आर्थिक विकास, पूर्वाधार विकास र वन वातावरण तथा विपत व्यवस्थापनको क्षेत्रमा पालिकाले काम गर्ने भएकोले ती विषयगत क्षेत्रका उपशीर्षकमा मूल्याङ्कन गर्न सुरु भएको उनले बताए ।
तोकेको समयमा तोकेका काम पूरा गरेर प्रविष्टी नगरेसम्म पालिकाले नम्बर पाउँदैनन् । त्यसका लागि सबै शाखा जिम्मेवार बन्ने, आइटी शाखाले तोकेको दिनमा तोकेका सामग्री अपलोड गर्नुपर्ने काम गर्नुपर्ने पनि कँडेलले जानकारी दिए । मन्त्रालयले यो वर्षको ‘स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन प्रणालीसम्बन्धी अभिमुखीकरण’ अभियानसमेत बागलुङ नगरपालिकाबाट थालेको छ । देशभरमै पहिलोपटक बागलुङबाट थालिएको उनले बताए ।
उक्त अवसरमा नगरप्रमुख वसन्तकुमार श्रेष्ठले देखिने गरी पूर्वाधार विकास गर्ने, नागरिकले अनुभव गर्ने गरी सुशासन दिने र सरसफाइमा पनि अब्बल बनाउने लक्ष्य राखेको बताए । त्यसका लागि कर्मचारी र कार्यालय ‘स्मार्ट ’बनाउनेसमेत उनले बताए ।