बैतडीमा शिविरमार्फत राष्ट्रिय परिचयपत्र बनाइँदै


बैतडी । जिल्लामा राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलनको काम स्थानीय तहबाट भइरहेको छ । जिल्ला प्रशासन कार्यालयले स्थानीय पालिकामा दर्ता शिविर सञ्चालन गरेर विवरण सङ्कलन गरिरहेको हो ।
ज्येष्ठ नागरिक, अपाङ्गता भएका, अशक्तलगायतको समस्यालाई ध्यानमा राखेर राष्ट्रिय परिचयपत्रका लागि स्थानीयस्तरमा विवरण सङ्कलन थालिएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए। यसअघि विवरण सङ्कलन जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालय पुर्चौँडीबाट हुँदै आएको थियो ।
प्रजिअ पैडेलले भनेका छन्, “सामाजिक सुरक्षा भत्ता, बैंक खाता खोल्ने प्रक्रियालगायत विभिन्न सरकारी तथा गैरसरकारी सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ । दुर्गमका नागरिकले परिचयपत्र बनाउन सदरमुकाम धाउनुपर्ने बाध्यता थियो । उक्त बाध्यताको अन्त्यका लागि विवरण सङ्कलनको कार्यलाई स्थानीय तहमा विस्तार गरेका हौँ ।”
उनका अनुसार शिवनाथ गाउँपालिका, डिलाशैनी गाउँपालिका र मेलौली नगरपालिकामा शिविरमार्फत राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलनको काम भइरहेको छ ।
पालिकामा विवरण सङ्कलन गर्न सुरु भएपछि स्थानीय नागरिक उत्साहित हुँदै सहभागिता जनाइरहेका शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदले बताएका छन्। उनले भनेका छन्, “परिचयपत्र बनाउन हजारौँ खर्च गरेर सदरमुकाम जानुपर्ने बाध्यता अन्त्य भएपछि स्थानीय शिविरमा उपस्थित भई जानकारी उपलब्ध गराइरहेका छन् ।”
यसअघि पाटन नगरपालिका र दोगडाकेदार गाउँपालिकामा शिविरमार्फत राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन गरिएको थियो । पञ्चेश्वर गाउँपालिका, सुर्नया गाउँपालिका र सिँगास गाउँपालिकामा यथाशीघ्र शिविर सञ्चालन गरिने जिल्ला प्रशासन कार्यायलले जनाएको छ ।
पुर्चौँडी नगरपालिकामा इलाका प्रशासन कार्यालयमार्फत, दशरथचन्द नगरपालिकामा जिल्ला प्रशासन कार्यालयमार्फत परिचयपत्र वितरण भइरहेको प्रजिअ पौडेलले जानकारी दिएका छन् । प्रशासन कार्यालयले नागरिकको सुविधालाई प्राथमिकतामा राख्दै परिचयपत्र वितरण र विवरण सङ्कलनलाई सहज र प्रभावकारी बनाउँदै आएको उनको भनाइ छ ।
जिल्लामा विसं २०७७ असोज पहिलो सातादेखि राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन गर्न सुरु भएको थियो । राष्ट्रिय परिचयपत्र बहुउपयोगी भएकाले १६ वर्ष उमेर पूरा भई नेपाली नागरिकता लिएकाले आफ्नो नाम दर्ता गराउन जिल्ला प्रशासन कार्यालयले सबैलाई आग्रह गरेको छ ।