संरक्षण नहुँदा पुरिँदै राजी ताल


गोदावरी । कैलालीको गोदावरी नगरपालिका–४ स्थित धार्मिक तथा पर्यटकीय क्षेत्रमा रहेको प्राकृतिक राजी ताल संरक्षण अभावमा पुरिन थालेको छ ।
चुरे पर्वतमा पर्ने उक्त तालमा वर्षातको पानीले बगाएर ल्याउने पातपतिङ्गर र माटो तथा बालुवाका कारण पुरिन थालेको हो । झण्डै चार हेक्टर क्षेत्रफलमा फैलिएको राजी ताल धार्मिक रुपले महत्वपूर्ण मानिन्छ । ताल खारपानी मन्दिर नजिकबाट मुलका रूपमा बग्ने पानीको मुख्य रिचार्जको स्रोत रहेको मष्टाधाम व्यवस्थापन समितिका अध्यक्ष गणेश जीमी साउँदले बताएका छन्।
चुरे क्षेत्रमा रहेको ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पर्यटकीय सम्भावना बोकेको राजी ताल संरक्षण अभावमा बर्सेनि पुरिँदै गएको उनले बताए । ताल संरक्षणको कार्यक्रम अगाडि नबढाइए ताल लोप हुने जोखिम रहेको स्थानीयवासी बताउँछन् । सो तालमा चुरे क्षेत्रका वन्यजन्तुले पानी पिउने र चराचुरुङ्गीले जलक्रीडा गर्ने गर्दछन् ।
ताल संरक्षणका लागि हाल मष्टाधाम व्यवस्थापन समितिले सङ्घीय सरकारको सहयोगमा डिपीआर बनाइसकेको अध्यक्ष साउदको भनाँइ छ । राजी तालमा बाह्रै महिना पानी रहनेगरी काला खोलाको पानी ल्याउने योजना रहेको भए पनि त्यसका लागि भने बजेटको सुनिश्चितता नभएको उनले बताए ।
प्रदेश पर्यटन कार्यक्रम कार्यान्वयन इकाइ धनगढीका निमित्त प्रमुख डबलबहादुर बोहराले चुरे पहाडमा रहेको राजी तालको संरक्षण आवश्यक रहेको बताएका छन् ।
संरक्षणको काम डिभिजन वनअन्तर्गत पर्ने बताउँदै उनले प्रदेश पर्यटन कार्यक्रम कार्यान्वयन इकाइले पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माणका कामलाई प्राथमिकता दिएको बताए ।
चुरे क्षेत्रमा रहेको सो ताल संरक्षणपछि ताल वरिपरि पर्यटकलाई हिँड्नका लागि बाटो निर्माण, पिकनिक स्थल र उद्यानलगायतका पूर्वाधार निर्माणका काम अघि बढाइने निमित्त प्रमुख बोहराको भनाइ छ ।
धार्मिक ग्वासी समैजी र मोहन्याल देवताबीच स्थानको विषयलाई लिएर झगडा हुँदा पहाडबाट मष्टा देवता आएर उक्त स्थानमा बसी दुवै देवताबीच मेलमिलाप गराएको किंवदन्ती पनि छ ।