सुदूरपश्चिमेलीको प्रमुख चाड गौरा पर्व आज राजधानीमा यसरी मनाइँदै (फोटोफिचर)


काठमाडौँ । सुदूरपश्चिमेलीको प्रमुख चाड गौरा पर्व आज राजधानीमा विविध कार्यक्रम गरी मनाइएको छ ।
भाद्र कृष्ण पञ्चमीका दिनदेखि आरम्भ हुने गौरा पर्वको पहिलो दिन घर–घरमा महिलाले तामाका भाँडामा बिरुडा अर्थात् पाँच प्रकारका अन्न भिजाएर पर्वको थालनी गरेका छन् । महिलाले व्रत बसेर गहुँ, केराउ, गहत, मास र गुरौस मिसाएर तामाका भाडामा भिजाएका छन् । यिनै पाँच अन्नको मिश्रणलाई ‘बिरुडा’ भन्ने गरिन्छ । महिलाले दोस्रो दिन पानीका मुहान र पँधेरामा शुभ मुहूर्तमा सामूहिक रुपमा बिरुडा धोएर गौरा देवीको प्रतिस्थापन गर्ने चलन छ ।
सप्तमीका दिन गौरा देवीलाई नजिकको मठ–मन्दिरमा भित्र्याएर पूजा–अर्चना गरी विवाहित महिलाले दुबधागो चढाउने गर्छन् । गौराष्टमीका दिन व्रत बसेर महिला बिहानैदेखि गौरा मनाउने स्थल गौरा खलोमा पूजाआजा गर्छन् । साँझपख अभिषेक गरेर दुबधागो घाँटीमा लगाएर देवीको पूजा गर्ने परम्परा रहेको पुरोहितको भनाइ छ ।
सोही दिन महिलाले प्रसादका रुपमा बिरुडा ग्रहण गरी आफ्ना घरपरिवारका सदस्यको टाउकोमा पुज्ने र निधारमा बिरुडा थापिदिने चलन छ । सुदूरपश्चिमका दार्चुला, बैतडी, डडेल्धुरा, डोटीका बासिन्दाले दशैँभन्दा पनि बढी महत्वका साथ मनाउने गौराको आगमनले यतिबेला सुदूरपश्चिममा चहलपहल बढाएको छ ।
गौरा पर्वको प्रमुख आकर्षणका रुपमा रहेको डेउडामा पौराणिक कथा, देवीदेवताका गाथा र धार्मिक ग्रन्थ गाउने गरिन्छ । त्यति मात्रै नभएर सामाजिक विकृतिविरुद्ध पनि डेउडाका माध्यमले तिखो व्यङ्ग्य गर्ने गरिन्छ । महिलाले यस अवसरमा आफ्ना सुख–दुःख डेउडाका माध्यमबाट व्यक्त गर्छन् ।
गौरा विसर्जन नगरिएसम्म गौराघरमा पुरुष तथा महिला छुट्टाछुट्टै रुपमा गोलबद्ध भई स्थानीय लोक भाषामा देउडा, चैत, धमारी आदि खेल खेलेर आनन्द लिने चलन छ । साथै देउडा र धमारी, ढुस्को, होरी खेलसमेत खेल्ने गरिन्छ । गौरा पर्वमा देउडा गीतका माध्यमबाट एकअर्काका दुःख–सुख बाँड्नुका साथै माया–प्रेम बाँड्ने गरिन्छ ।
यो पर्वलाई एकताका पर्वका रुपमा पनि लिइन्छ । गौरा पर्वका लागि काम विशेषले घरबाहिर गएका व्यक्तिहरु घर फर्किने गर्दछन् ।
अनुकूल तिथि हेरी विसर्जन गरिने गौरा पर्वले मानिसमा धार्मिक, आस्था, आपसी सद्भाव बढाउन मद्दत पु¥याउने मात्र नभई यस पर्वमा व्रत बसी शिव र गौरीको पूजाआजा गर्नाले सुखशान्ति प्राप्त हुने, इष्ट र कुलदेवता प्रशन्न हुने जनविश्वास छ ।