`

पुटिनद्वारा युक्रेन आक्रमणको बचाउ गर्दै पश्चिमलाई दोषारोपण

Nepal One HD १६ भदौ २०८२ १२:३९
विश्व

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार चीनमा आयोजित शिखर सम्मेलनमा आफ्ना सहयोगीहरूसमक्ष युक्रेनमाथिको आक्रमणको बचाँउ गर्दै पश्चिमी मुलुकलाई साढे तीन वर्ष लामो युद्ध सुरु गराएको आरोप लगाएका छन् ।

यस युद्धले दशौँ हजार मानिसको ज्यान लिएको छ र पूर्वी युक्रेनका धेरै क्षेत्र ध्वस्त पारिएका छन् ।

पुटिनले भने, “यो सङ्कट रुसले युक्रेनमाथि आक्रमण गर्दा उत्पन्न भएको होइन, बरु युक्रेनमा भएको कूको परिणाम हो, जसलाई पश्चिमी देशहरूले समर्थन र उक्साएका थिए ।”

उनले सन् २०१३–२०१४ को युरोपेली क्रान्तिको सन्दर्भ दिँदै त्यतिबेला रूसी समर्थक राष्ट्रपतिलाई हटाइएको बताएका थिए ।

त्यसपछिको प्रतिक्रियामा मस्कोले क्रिमियन प्रायद्वीपलाई आफ्नो क्षेत्रमा मिलायो र पूर्वी युक्रेनमा रुसी समर्थक पृथकतावादीलाई समर्थन दियो, जसले गृहयुद्ध भड्कायो ।

रूसी राष्ट्रपतिले भने, “सङ्कटको अर्को कारण भनेको युक्रेनलाई नाटोमा तान्ने पश्चिमी मुलुकहरूको निरन्तर प्रयास हो ।”

पुटिनले साङ्घाई सहयोग सङ्गठन ९एससिओ० को शिखर सम्मेलनमा बोलिरहेका थिए। सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिनपिङ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र इरानी राष्ट्रपति मसुद पेजेस्कियान लगायतका सहयोगी नेताहरूको सहभागीता रहेको थियो ।

मस्को र बेइजिङले एससिओलाई नाटोसहित पश्चिमी नेतृत्वको राजनीतिक तथा सुरक्षा ब्लकको विकल्पका रूपमा लिएका छन् ।

पुटिनले विश्वलाई अब ‘पुरानो युरोकेन्द्रित र युरो–एटलान्टिक मोडेलको सट्टा विभिन्न देशहरूको हितलाई ध्यानमा राख्ने प्रणाली’ आवश्यक भएको बताएका थिए ।

उनले चीन, भारत र अन्य रणनीतिक साझेदारहरूले अघि सारेका प्रस्ताव र प्रयासलाई युक्रेन सङ्कट समाधानमा महत्त्वपूर्ण योगदानका रूपमा मूल्याङ्कन गर्ने बताए ।

यता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्य गर्न मस्को र किएभ दुवैलाई सम्झौतामा आउन आग्रह गरेका छन् ।

तर शान्ति प्रस्ताव हालसम्म रोकिएको छ । पुटिनले युद्धविरामको आह्वानलाई अस्वीकार गर्दै युक्रेनलाई थप भू–भाग त्याग्न र पश्चिमी समर्थन परित्याग गर्नुपर्ने माग राखेका छन् ।

किएभले भने आँफूहरूले युद्ध सुरु नगरेको दाबी गर्दै ती मागलाई अस्वीकार गरेको छ ।

रूसी राष्ट्रपति पुटिनले द्वन्द्व अन्त्यका लागि कूटनीतिक प्रयास र हालै अमेरिकी राष्ट्रपति ट्रम्पसँग भएका वार्ताबारे शृङ्खलाबद्ध द्विपक्षीय बैठकमा छलफल गर्ने बताएका छन् ।

उनले सोमबार पछि भारतीय प्रधानमन्त्री मोदी, इरानी राष्ट्रपति पेजेस्कियान र टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगनसँग छुट्टै वार्ता गर्ने तयारीसमेत गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *