हिमनदीमाथि बरफ र चट्टान बजारिँदा आयो भोटेकोशीमा बाढी
काठमाडाैं। १० भदौमा भोटेकोशी र त्रिशूलीमा आएको विनाशकारी बाढीले भएको जनधनको क्षति अझै यकिन भइसकेको छैन । बाढी आउनुको कारणबारे पनि अनेक तर्क सुनिन्छ ।
तर, बाढीलगत्तै त्यस क्षेत्रको गहन अनुसन्धान गरेका काठमाडौं विश्वविद्यालयको ‘डिपार्टमेन्ट अफ इन्भाइरोमेन्टल साइन्स, हिमालयन क्रायोस्पर, क्लाइमेट एन्ड डिजास्टर रिसर्च सेन्टर’मा आबद्ध वैज्ञानिक डा. मोहनबहादुर चन्दले भने बाढी आउनुको नयाँ तथ्य सार्वजनिक गरेका छन् ।
उनीसँग नेपालवान एचडीका लागि जङ्ग तामाङले गरेको भिडियो संवादको सम्पादित अंश:
प्रारम्भिक अनुसन्धानले भोटेकोशी नदीमा आएको महाविनाशकारी बाढीको कारण के देखियो ?
यसमा दुई-तीनवटा अनुमान छन् । पहिलो, लाङटाङको लेरुङ हिमचुली छ (७२०० मिटरको) । त्यसको उत्तरी भूभागतिर एउटा हिमनदी छ । करिब साढे ४ बर्ग किलोमिटर फैलिएको छ । त्यसको फेदबाट बरफको ठूलो भाग फुटेको र चट्टानको पनि ठूलो भाग बजारिँदा जुन तहको दबाब सिर्जना भयो । त्यसले बरफ पग्लियो र ३८०० मिटरबाट अरु थप बरफको पिण्ड र ‘डेग्रिज’ लिएर गयो । गति तीब्र हुँदा सबै बरफ पगालियो । ढुंगा, माटो, गेग्रान सबै लेदोको रुपमा तीब्र गतिमा बग्यो र बाढीको रुपमा आएको देखियो ।
सुरुमा त भूकम्पका कारण हिमताल फुट्यो र बाढी आयो भनियो । त्यो गलत हो त ?
भूकम्पका कारण आएको होइन । यदि कुनै हिमताल फुट्यो, भासियो र बरफको ढिको फुट्यो भने भूकम्पका कारण भन्न मिल्छ । सुरुमा केही स्रोतबाट भूकम्प कारण भनिएको छ तर भूकम्प त ५०÷६० किलोमिटर टाढा गएको थियो । त्यो सँग ‘कनेक्सन’ गर्न सकिन्छ कि भनेर भूकम्पका कारण हिमताल विस्फोट भयो भनेर सूचना आएको थियो । तर, पछि सच्याए । त्यही भएर बरफ फुटेर जोड्ले बजारिँदा जुन कम्पन आयो, त्यो चाहिँ भूकम्पजस्तो थियो । यद्यपि, पहिले भूकम्प आएर त्यसरी फुटेको जस्तो देखिएन । त्यसो हुनाले भूकम्पका कारण हिमताल फुटेर बाढी आएको देखिएन ।
हिमनदी ‘कोल्याप्स’ हुँदैछ भन्ने कुनै सूचना प्रणाली जडान गरेर नागरिकलाई जोगाउन सकिन्थ्यो कि सकिन्थेन ?
अहिले नेपालमा झण्डै ३८ वटा हिमनदी छन् । चार हजार बढी हिमताल छन् । हाम्रो पर्वत श्रृङ्खला भिरालो छ । भूगर्भ त्यस्तै कमजोर छ । अहिलेको जुन हाम्रो स्रोत र साधन छ, सबै हिमताल, हिम शृङ्खला, हिमनदीहरूमा मनिटरिङ गर्न एकदमै चुनौतीपूर्ण हुन्छ । एक त हामी सबै ठाउँमा जान सम्भव छैन । तर, जहाँ जहाँ मिल्छ, सरकार, काठमाडौं विश्वविद्यालयलगायत अध्ययन गर्ने संस्थाहरूमार्फत एक–दुई वर्ष लगाएर राम्रो अध्ययन गर्ने, कहाँ कहाँ बढी जोखिम छ ? कुन कुन हितामल अलिक बढी जोखिममा छ ? विस्तृत अध्ययनमा जति पहिचान हुन्छ, त्यहाँ मनिटरिङ प्रणाली जडान गर्न सक्यौँ भने त्यहाँ के हुँदैछ ? के हुन सक्छ ? त्यो जानकारी थाहा हुन्छ ।
त्यो चाहिँ सूचना प्रणालीमार्फत जडान गरेर सरकारी प्रणालीबाट नागरिकलाई जानकारी दिन सकियो भने मानवीय क्षति कम हुन सक्छ ।
फेरि ताल बनेको र भोटेकोशीमा भीषण बाढी आउन सक्छ भन्ने हल्ला छ । त्यस्तो सम्भावना छ ?
विगत केही वर्षदेखि देखिरहेका छौँ कि सन् २०२४ मा थामे गाउँमा आएको बाढी, त्यसपछि भोटेकोशीमै २०२३ देखि लगातार आएको बाढी, हुम्लामा आएको बाढी र वीरेन्द्र तालबाट आएको बाढीको घटनाले पछिल्ला वर्षहरूमा बाढीका घटनाहरू बढ्दो क्रममा छ । त्यसले गर्दा हाम्रो उच्च हिमाली क्षेत्रमा जुन तहको हिमनदी रहेको छ, हिमताल रहेको छ, जमेको जमिन रहेको छ र हिउँको प्रवृत्तिले केही न केही उथलपुथल भइरहेको छ । त्यसो भइरहँदा त्यहाँको भूगर्भ र भूवनोटलाई कमजोर बनाउँदै लैजाने सम्भावना बढ्दो छ । यसो हुँदा कुनै न कुनै बेला भिन्न प्रकृतिको विपद् आउन सक्छ ।
तत्काल चाहिँ भोटेकोशी नदीमा फेरि बाढी आउने जोखिम छ कि छैन ?
आउन सक्छ ।
कतै फेरि ताल बनेको र फुट्ने सम्भावना छ भनेर खबरहरू सार्वजनिक भए, तपाईंको अनुसन्धानले के देखायो ?
फुट्ने सम्भावना भनेर अहिले नै कुनै पनि ताललाई फुट्छ भन्न सक्दैनौँ, जसरी हामी पहिल्यै भूकम्प आउँछ भन्न सक्दैनौँ । किनभने हामीसँग त्यस्तो प्रणाली छैन । तर, हामी के गर्न सक्छौँ भने त्यहाँ केही परिवर्तनहरू भइरहेका छन् र त्यसलाई केलाउन सक्यौँ भने तल्लो तटीय क्षेत्रमा रहेका जनतालाई सूचना समयमै पठाएर जनधनको क्षति कम गर्न सकिन्छ । पूर्वसूचना प्रणालीका विभिन्न स्वरुप हुन सक्छन् ।
जस्तो ः गाउँलेहरूलाई तालिम दिएर हुन सक्छ । शिक्षा दिएर हुन सक्छ । साइरन वा एसएमएस (सन्देश) प्रणालीलाई प्रभावकारी बनाउन सकिन्छ र क्षति कम गर्न सकिन्छ । त्यो प्रणाली हिमाली क्षेत्रमा छिट्टै गर्नुपर्छ ।
भोटेकोशी र त्रिशूली बाढीले जुन स्तरमा जनधनको क्षति पुग्यो । बाढीको गतिलाई आधार मानेर सूचना प्रवाह तीब्र गरी तल्लो तटीय क्षेत्रका जनतालाई जोगाउन सकिने अवस्था थियो कि थिएन ?
बाढी जहाँबाट उत्पति भएर जति तल जान्छ, त्यति तलका जनतालाई बचाउने सम्भावना धेरै हुन्छ । सुरक्षित ठाउँमा जाने समय हुन्छ । तर, माथि बाढीको गति धेरै हुँदा सुरक्षित ठाउँ सम्भावना कम हुन्छ ।
यद्यपि, भोटेकोशीमा बाढी आइसकेको भनेर थाहा पाइसकेपछि तल रहेको पानीको सतह नाप्ने उपकरणहरु जति थिए, सबै बगाएर लग्यो । कुन तहको बाढी आउँदै छ भनेर कसैले अनुमान गर्न सकेनन् । डिपार्टमेन्ट अफ हाइड्रोलजी र मेट्रोलजीले करिब ७५ हजार सन्देशबाट अलर्ट गरिएको रहेछ । अलर्ट चाहिँ कत्तिको गम्भीर हो ? सन्देशको भाषा फरक परेर राम्रोसँग नबुझेको पनि हुन सक्छ । त्यसो हुँदा पनि धेरै क्षति पुगेको हुन सक्छ ।
कतिपयले चीनले सूचना ढिला गर्दा नेपालमा ठूलो क्षति भयो भनियो, त्यस्तो हो ?
त्यो सूचना प्रणालीबारे मलाई त्यति थाहा छैन । तर, क्षति चीनतर्फ पनि भएको छ । उनीहरूले पनि आफ्नो जनतालाई सूचित गर्न नसकेको पुष्टि हुन्छ । मलाई चीनले त्यसरी सूचना दिन नखोजेको व्यक्तिगत रुपमा भान भएको छैन ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले जसरी भोटेकोशी बाढी सामना गर्नुप¥यो, त्यसको जिम्मा लिँदै औधोगिक राष्ट्रहरूले क्षतिपूर्ति दिनुपर्ने बताए । अरुले पनि भन्न त्यसै थाले । त्यसरी नेपालले क्षतिपूर्तिको दाबी गर्न मिल्छ ?
अहिले यस्तो कुराको बहस धेरै भइरहेको छ । विकासोन्मुख मुलुकहरूमा यस्ता विपदका घटना हुने र जलवायु परिवर्तनका असर देखिने ठाउँमा क्षतिपूर्तिको बहस धेरै अगाडिदेखि चलेको छ । पछिल्लो समयमा क्षति र विनासको अवधारणाको आधारमा दाबी गर्न मिल्छ ।
त्यसका लागि नेपालले तथ्य पनि पेस गर्नुपर्छ होला नि ?
तथ्य मात्रै नभएर सरकार र नागरिकले मजबुत प्रमाणसहित तयारी गर्नुपर्छ । सिँधै यस्तो देऊ भन्न सुहाउँदैन । जलवायु परिवर्तनकै कारण बाढी आयो भनेर जहाँजहाँबाट प्रमाणित हुन्छ, प्रमाणित गरेर सरकारले दाबी गर्नुपर्छ ।
अरु कुनै हिमनदीहरू तत्काल ‘कोल्याप्स’ हुने सम्भावना देखिन्छ ?
हिमतालहरू ‘आउटब्रस्ट’ हुने सम्भावना भनेर २०२० सालमा इसिमोड र युएनडीपीलगायतले एउटा रिपोर्ट निकालेको छ । उनीहरूले हाम्रो उच्च हिमाली भेगमा ४७ वटा तालहरू अलिक जोखिममा छन् भनेका छन् । ती हिमतालहरू प्रत्येक वर्ष परिवर्तन भइरहेका छन् । कोही ठूला भएका छन् । कोही तालको भूवनोट परिवर्तन भएका छन् । छिट्टै विस्तृत अध्ययन गरेर कुन बढी जोखिममा र कुन कम जोखिममा भनेर यकिन गर्नुपर्ने आवश्यकता रहेको छ ।



