सरकार आकाशमा देखियाे, भुइँमा पचासाैं शव छ – उत्तरगयाका अध्यक्ष अर्याल
काठमाडौं । रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीपछि उत्तरगया गाउँपालिका अध्यक्ष माधव अर्यालले कहालीलाग्दो अवस्था र राज्य संयन्त्रको सुस्त उद्धारप्रति कडा आक्रोश व्यक्त गरेका छन् । उनले बालेन सरकार आकाशमा मात्रै देखिएकाे बताए । जबकि भुइँमा ५० साैं शव रहेकाे उनकाे भनाइ छ ।
`
हाम्रो क्षेत्रबाट हेर्दा सङ्घीय सरकार आकाश र सामाजिक सञ्जालमा मात्रै देखिन्छ। विपद्को यो अवस्थामा जनताले अनुभूति गर्ने गरी काम भएको छैन´, उनले भने ।
अर्यालका अनुसार बाढीको पूर्वसूचना जारी गर्न खटिएका गाउँपालिकाका ४ जना कर्मचारी अझै बेपत्ता छन् भने सञ्चार अधिकृत जनक आचार्यको शव भेटिएको छ। ११ वर्षदेखि अस्थायी रूपमा बसोबास गर्दै आएका करिब ३०० भूकम्पविस्थापित घरपरिवार पुनः घरबारविहीन भएका छन्। त्रिशूली 3B र माथिल्लो त्रिशूली 1 जलविद्युत् आयोजनाका नेपाली तथा विदेशी मजदुरहरू टनेल (सुरुङ) भित्र फसेको र गोसाइँकुण्ड–मानसरोवरका यात्रीहरू पनि हराइरहेको उनले बताए ।
`हेलिकप्टरको प्रतीक्षा गर्दा सुनुवाइ नभएपछि घाइतेहरूलाई १० घण्टा लगाएर धुञ्चे अस्पताल पुर्याउनुपर्ने दर्दनाक अवस्था भोगेका छौँ´, उनले दु:खेसाे पाेखे ।
सडक र मोबाइल सम्पर्कबाट पूर्ण रूपमा विच्छेद बनेको उक्त क्षेत्रमा शव व्यवस्थापनमा समेत समस्या परेको उनले बताए`खोला किनारमा पचासौँ शवहरू छन्। पहिचान भएका शव दाहसंस्कार गर्न खोज्दा प्रहरीले ‘माथिको आदेशबाहेक केही गर्न मिल्दैन’ भन्छन्। शव सढेर गाउँ नै दुर्गन्धित बनेको छ,´ उनी भन्छन् ।
३५० प्रभावितलाई आश्रय, खाद्यान्न ३ दिनलाई मात्र
हाल निलकण्ठ मावि बोगटीटारमा करिब ३५० प्रभावितलाई आश्रय दिइएको छ। छिमेकी गाउँपालिकाहरूको सहयोगमा प्राप्त खाद्यान्नले अब ३ दिन मात्र धान्नेछ। सुत्केरी, गर्भवती, बालबालिका, दीर्घरोगी र पहिरोको जोखिममा रहेको तिरु क्षेत्रका बासिन्दालाई तत्काल विशेष उद्धार र राहत आवश्यक रहेको अध्यक्ष अर्यालको भनाइ छ।
`गृहमन्त्रीको सचिवालयबाट ‘नकारात्मक प्रचार नगरिदिनुस्’ भन्ने फोन आयो। मैले भनेँ— हामीले यस्तो आवाज उठाउनै नपर्ने स्थिति सिर्जना गर्नुहोस्, सरकार भएको अनुभूति गराउनुहोस्। सामाजिक सञ्जाल रङ्गाउनुभन्दा जे गर्ने हो मैदानमै गरौँ।´
प्रमुख जिल्ला अधिकारीसँग समन्वय भइसकेकाले आजैबाट सरकारीस्तरबाट उद्धार र राहतका काम प्रभावकारी रूपमा सुरु हुने आशा अध्यक्ष अर्यालले व्यक्त गरे।
