बाढीबाट बाँचेकालाई बचाउन हेलिकप्टर चाहियो [अडियो वार्ता]
रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले कयौं मानिस बेपत्ता छन्। बेपत्ताहरूको खोजी तथा उद्धार कार्य मौसमका कारण प्रभावित भएको छ। बाढीले रसुवासहित नुवाकोटमा ठूलो जनधनको क्षति पुर्याएको छ। यो वार्ता तयार गर्दासम्म २५ जनाको शव फेला परेको छ। यो घटनाले देशवाशी स्तब्ध छन्। यही पेरिफेरिमा रहेर रसुवाका कांग्रेस सांसद मोहन आचार्यसँग जंग तामाङले गरेको अडियो वार्ताको सम्पादित अंश :
रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएको छ। अहिले प्रभावित क्षेत्रको अवस्था कस्तो छ र अहिलेसम्म प्राप्त विवरणअनुसार क्षतिको स्थिति कस्तो छ?
पछिल्लो विवरणअनुसार मानवीय क्षतिको यकिन विवरण अझै प्राप्त हुन सकेको छैन। क्षति हाम्रो अनुमानभन्दा निकै ठूलो छ। अवस्था कल्पनाभन्दा बाहिरको छ। मानवीय क्षतिको विवरण संकलन भइरहेको छ।
उद्धार कार्य भने मौसमका कारण प्रभावित भएको छ। बेलुकीतिर मौसमले साथ नदिएपछि उद्धारमा कठिनाइ भएको हो। दिउँसोसम्म उद्धारको काम भइरहेको थियो। अब भोलिदेखि पुनः उद्धारलाई तीव्रता दिनुपर्ने अवस्था छ।
नेपाल सरकार, विपद् व्यवस्थापन संयन्त्र र गृह मन्त्रालयबाट उपलब्ध साधन–स्रोत परिचालन गरेर काम भइरहेको छ। स्रोत–साधन सीमित भए पनि सरकारले सक्दो प्रयास गरिरहेको छ। तर आवश्यकता निकै ठूलो छ।
त्यसो भए अहिले उद्धारमै मुख्य समस्या देखिएको हो?
उद्धारमा मौसमले अवरोध गरेको हो। तर समस्या मौसममा मात्रै सीमित छैन। क्षति अत्यन्त ठूलो छ र ठूलो भूगोल प्रभावित भएको छ। कतिपय ठाउँ पूर्णरूपमा बाढीले बगाएको अवस्था छ। यस्तो अवस्थामा एकैपटक सबैको उद्धार गर्न सम्भव हुँदैन।
सरकारले तत्काल निर्णय गरेर अघि बढेको छ। निर्णयअनुसार प्रभावकारी कार्यान्वयन हुन सके उद्धारलाई छिटो र व्यापक बनाउन सकिन्छ भन्ने मेरो बुझाइ छ।
उद्धार, राहत र प्रभावितको व्यवस्थापनका लागि अहिले सरकारले, सामाजिक संघसंस्था र अन्य निकायले के गर्नुपर्ने अवस्था छ ?
अहिलेको पहिलो प्राथमिकता उद्धार नै हो। विपद् प्रभावित क्षेत्रमा फसेका र जोखिममा रहेका मानिसलाई तत्काल उद्धार गरेर सुरक्षित स्थानमा लैजानुपर्छ। त्यसपछि मात्रै पोस्ट–रेस्क्युका काम सुरु हुन्छन्।
राहतका अल्पकालीन तथा दीर्घकालीन प्याकेजलगायत पुनःस्थापनाका विषय त्यसपछिका चरण हुन्। अहिले पहिलो काम भनेको जति मानिस जीवित छन्, उनीहरूलाई तत्काल उद्धार गरेर सुरक्षित बनाउनु हो।
अहिले पनि उद्धारका लागि फोन आइरहेको छ?
आइरहेको छ, धेरै नै आइरहेको छ। टेलिफोन तथा सञ्चार सेवा अवरुद्ध भएका कारण सबै ठाउँबाट सूचना प्राप्त गर्न सकिएको छैन। जति सम्पर्कमा आएका छन्, त्यहाँबाट उद्धारका लागि लगातार फोन आइरहेको छ।
धेरै मानिस सम्पर्कविहीन छन्। ठूलो भूगोल प्रभावित भएकाले कति मानिस बेपत्ता छन् भन्ने अहिले नै ठ्याक्कै अनुमान गर्न सकिने अवस्था छैन।
रसुवा, नुवाकोटलगायत बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धारका लागि के आवश्यक छ?
अहिले तत्काल आवश्यक पर्ने मुख्य साधन हेलिकप्टर उद्धार हो। रसुवामा सडक सञ्जाल लगभग ध्वस्त भएको छ। धेरै ठाउँका सडक र पुल बाढीले बगाएको छ। एउटा गाउँबाट अर्को गाउँसम्म पुग्न सक्ने अवस्था छैन।
कतिपय मानिस खोलाको वारिपारि फसेका छन्। हिजोसम्म पुल र सडकका कारण सहज आवतजावत भइरहेको थियो तर अहिले ती संरचना बगेपछि एकातिर रहेका मानिस अर्कोतिर जान सक्ने अवस्था छैन।
त्यसैले अहिलेको अवस्थामा रसुवामा हेलिकप्टरमार्फत एयरलिफ्ट गर्नुबाहेक तत्काल उद्धारको अर्को प्रभावकारी विकल्प छैन।
