इजरायलको संदिग्ध आणविक साइटमा तीव्र निर्माण


विज्ञहरूले विश्लेषण गरेका स्याटेलाइट तस्बिरहरूले इजरायलको लामो समयदेखि शङ्का गरिँदै आएको आणविक कार्यक्रमसँग जोडिएको प्रमुख स्थलमा निर्माण कार्य तीव्र भइरहेको देखाएका छन् ।
उनीहरूका अनुसार यो नयाँ रिएक्टर वा आणविक हतियार संयोजन गर्ने सुविधा हुनसक्छ, तर गोपनीयताका कारण निश्चित भन्न कठिन छ ।
डिमोना नजिकैको शिमोन पेरेस नेगेभ आणविक अनुसन्धान केन्द्रमा भइरहेको यो कामले मध्यपूर्वमा एक मात्र आणविक–सशस्त्र राष्ट्रका रूपमा इजरायलको स्थितिबारे फेरि प्रश्न उठाउनेछ ।
निर्माणाधीन संरचनाको स्थान, आकार र धेरै तलाहरू देखिनुका आधारमा यो नयाँ भारी पानी रिएक्टर हुनसक्ने सम्भावना रहेको विज्ञहरूले बताएका छन् ।
यस्तो रिएक्टरले आणविक हतियार निर्माणमा प्रयोग हुने प्लुटोनियम उत्पादन गर्न सक्छ । तर केही विज्ञहरूले यो नयाँ हतियार संयोजन सुविधा पनि हुनसक्ने सुझाएका छन् ।
मिडलबरी इन्स्टिच्युटका आणविक विज्ञ जेफ्री लुइसले भने, “यो सम्भवतः रिएक्टर नै हो । स्थान, आकार र डिमोनाको इतिहास हेर्दा अरू केही भएको कल्पना गर्न गाह्रो छ ।”
इजरायलले आफ्नो आणविक हतियार अस्तित्वबारे पुष्टि वा अस्वीकार गर्दैन । सरकारले र ह्वाइट हाउसले पनि यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् ।
– वर्षौंदेखि जारी उत्खनन र निर्माण –
एपीले सन् २०२१ मा पहिलो पटक डिमोना क्षेत्रमा ठूलो उत्खनन भएको रिपोर्ट गरेको थियो । हालैका तस्बिरहरूले भूमिगत संरचना निर्माणमा बाक्लो कङ्क्रीट पर्खाल, धेरै तलाहरू र ठूलो क्रेन प्रयोग भइरहेको देखाउँछन् ।
हालको भारी पानी रिएक्टर सन् १९६० को दशकमा सञ्चालनमा आएको हो, जुन युगका धेरै रिएक्टरभन्दा लामो समय चलिसकेको छ । यसलाई चाँडै प्रतिस्थापन वा पुनःफिट गर्नुपर्ने सङ्केत विज्ञहरूले दिएका छन्।
युनियन अफ कन्सन्र्ड साइन्टिस्ट्सका एडविन लाइम्यानले भन्नुभयो, “यो नयाँ रिएक्टर वा हतियारसम्बन्धी संरचना हु सक्छ, तर पारदर्शिताको अभावले ठ्याक्कै भन्न कठिन भएको छ ।”
– गोप्यता र शङ्कास्पद क्षमता –
सन् १९८० को दशकमा एक ह्विसलब्लोअरले डिमोनाबारे विवरण सार्वजनिक गरेपछि विज्ञहरूले इजरायलले दर्जनौँ आणविक हतियार बनाइसकेको निष्कर्ष निकालेका थिए ।
यदि नयाँ रिएक्टर बनेमा, इजरायलले प्लुटोनियम वा ट्रिटियम उत्पादन गरेर आफ्नो शस्त्रागार कायम राख्न वा विस्तार गर्न खोजिरहेको हुनसक्छ । ट्रिटियम वारहेडको शक्ति बढाउन प्रयोग हुन्छ र बर्सेनि करिब पाँच प्रतिशत क्षय हुने भएकाले पुनःउत्पादन आवश्यक पर्छ ।
– आणविक अस्पष्टताको नीति –
यहुदी नरसंहारपछि स्थापना भएको इजरायलले सन् १९५० को दशकमा आणविक स्थल निर्माण सुरु गरेको विश्वास गरिन्छ । यसले ‘आणविक अस्पष्टताको नीति’ अवलम्बन गरेको छ, जसले प्रतिद्वन्द्वीहरूलाई अनिश्चिततामा राख्छ ।
इजरायल आणविक हतियार भएको विश्वास गरिएका नौ मुलुकमध्ये एक हो र आणविक अप्रसार सन्धिमा सामेल नभएका चारमध्ये एक हो । यसकारण अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी ९आइएइए० लाई डिमोनाको निरीक्षण गर्ने अधिकार छैन ।
भियनास्थित आइएइएले भनेको छ, “इजरायल आफ्नो सोरेक अनुसन्धान रिएक्टरबाहेक अन्य आणविक संरचनाबारे जानकारी दिन कानूनी रूपमा बाध्य छैन ।”