`

सालझण्डी(ढोरपाटन):सडक तीन दिनपछि सञ्चालनमा

Nepal One HD १९ भदौ २०८२ १३:१३
समाचार

ढोरपाटन । पहिरोले अवरुद्ध बनेको राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–ढोरपाटन सडक तीन दिनपछि सञ्चालनमा आएको छ । सडकमाथिबाट झरेको पहिरो दुई दिनको निरन्तर पहलमा पन्छ्याएपछि आजदेखि सडक सञ्चालनमा आएको हो ।

भारी वर्षाका कारण ढोरपाटन नगरपालिका–७ धाराबोटमा सोमबार साँझ झरेको पहिरोले सडक अवरुद्ध बनेको थियो । सडक अवरुद्ध भएपछि सिकार आरक्ष ढोरपाटन आवागमन गर्ने सयौँ आन्तरिक तथा बाह्य पर्यटकलाई सास्ती भएको थियो ।

आजदेखि सडक सञ्चालनमा आएपछि पर्यटक गन्तव्यतर्फ लागेका ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले जानकारी दिएका छन् । उक्त खण्डमा ठूलो पहिरो गएकाले सडक खुलाउन तीन दिन लागेको उहाँले बताए । योबाहेक वैकल्पिक सडक नहुँदा स्थानीयलाई आवतजावतमा समस्या हुँदै आएको उनको भनाइ छ ।

यसैबीच ढोरपाटन आउने पर्यटकलाई नगरपालिका र प्रहरीले मौसम र सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न आग्रह गरेको छ । उपप्रमुख कायतले भने, “निरन्तर पानी परिरहेको र पहिरो पनि ठूलो भएकाले पन्छ्याउन समय लागेको हो । अहिले सामान्य पहिरो पन्छ्याएर सवारीसाधान आवतजावत गर्नेगरी सडक सञ्चालनमा ल्याएका हौँ । सबै पहिरो हटाउनका लागि समय लाग्ने देखिन्छ । अहिले पर्यटक र स्थानीयलाई समस्या नहोस् भन्ने उद्देश्यले सवारीसाधन सञ्चालनमा ल्याएका छौँ ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *