संसदीय सुनुवाइ समिति सभापतिको निर्वाचनका लागि मनोनयन दर्ता आज


काठमाडौं । संसदीय सुनुवाइ (संयुक्त) समितिको सभापतिको निर्वाचनका लागि आज मनोनयन दर्ताको समय छ । भोलि (शुक्रबार) समितिको सभापतिको निर्वाचन भएको छ ।
सुनुवाइ समितिकी सहसचिव निर्मलादेवी लामिछाने वस्तीका अनुसार भोलि साँझ ५ बजे निर्वाचन हुँदैछ । आज दिउँसो २ बजेदेखि ४ बजेसम्म मनोनयन दर्ताको समय छ ।
सुनुवाइ समिति सभापतिको पद यही भदौ १० गतेदेखि रिक्त छ । सुनुवाइ समितिका तत्कालीन सभापति ईश्वरीदेवी न्यौपानेले राजीनामा दिएपछि उक्त पद खाली छ । न्यौपाने सुनुवाइ समितिको सभापतिबाट राजीनामा दिएर राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति भएकी छन् ।
प्रतिनिधि सभा नियमावलीमा संसदीय विषयगत समितिको सभापति पद रिक्त भएको १५ दिन भित्र निर्वाचन गरिसक्नुपर्ने प्रावधान छ ।
यस्तो प्रावधान प्रतिनिधि सभा नियमावलीको नियम १७७ को उपनियम ५ मा छ । जहाँ भनिएको छ, ‘‘समितिको सभापतिको पद रिक्त हुन आएमा रिक्त भएको मितिले १५ दिनभित्र निर्वाचन गरिसक्नु पर्नेछ ।’ यो व्यवस्थाको पालना गर्दै समयमै निर्वाचन गर्न लागिएको हो ।