राष्ट्रिय फोटो पत्रकार समूहद्वारा फोटो प्रदर्शनी आयोजना


काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे)ले काठमाडौँ उपत्यकाको प्रमुख सांस्कृतिक पर्व इन्द्रजात्रालाई केन्द्रमा राखेर खिचिएका फोटोको प्रदर्शनी गरेको छ । समूहले काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा आजदेखि काठमाडौँको वसन्तपुरमा फोटो प्रदर्शनी आयोजना गरेको हो ।
तीन दिनसम्म चल्ने उक्त प्रदर्शनीमा इन्द्रजात्राका झन्डै १०० फोटो प्रदर्शनीमा राखिएका समूहका महासचिव घनश्याम श्रेष्ठले जानकारी दिए। उक्त प्रदर्शनीको आज उद्घाटन गर्दै काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले काठमाडौँभित्रका सांस्कृतिक सम्पदालाई संरक्षण गर्न फोटो प्रदर्शनीले सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले यस्ता प्रदर्शनीले नेपाली कला, संस्कृति र चाडपर्वलाई अन्तरराष्ट्रिय क्षेत्रमा प्रवद्र्धन गर्न महत्वपूर्ण योगदान पु¥याउने बताए।
“इन्द्रजात्रा हाम्रो मौलिक पर्व हो, यसको हरेक गतिविधि सांस्कृतिक धरोहर हो, यस्ता प्रदर्शनीले हाम्रो संस्कृतिलाई विश्वसामु चिनाउन सहयोग पु¥याउँछ,” उनले भने।
समूहका कार्यवाहक अध्यक्ष सागर श्रेष्ठले काठमाडौँको जीवित सम्पदा र मौलिक परम्पराको विविध आयामलाई नजिकबाट बुझ्न यस्ता प्रदर्शनीले सहयोग पुग्ने विश्वास व्यक्त गरे । संस्कृति, सम्पदा र परम्पराप्रति चासो राख्ने सम्पूर्णलाई प्रदर्शनी अवलोकनका लागि उनले आमन्त्रण गरेका छन् ।
कार्यक्रमका संयोजक सुनिल शर्माले पत्रकारको दृष्टिकोणबाट काठमाडौँको सांस्कृतिक जीवन्ततालाई फोटोमार्फत प्रदर्शन गरिएको बताए । “इन्द्रजात्रा केवल उत्सव होइन, यो काठमाडौँको पहिचान हो, यसलाई संरक्षण र प्रवद्र्धन गर्नु हाम्रो दायित्व हो, इन्द्रजात्रा हाम्रो संस्कृतिको जिउँदो चित्र हो, आठ दिनसम्म विविध सांस्कृतिक गतिविधिले भरिएको जीवन्त पर्व, यसलाई प्रदर्शनीमार्फत हामीले यही सन्देश दिन खोजेका हौँ,” उनले भनेका छन् ।