जेन–जीको प्रदर्शनमा घाइतेको उद्धारमा खटियो काठमाडौं महानगरको टोली


काठमाडौं । काठमाडौं महानगरपालिकाले जेन–जी प्रदर्शनका क्रममा घाइते भएकाहरूको उपचारमा सघाउने जनाएको छ । आज (सोमबार) काठमाडौंमा प्रदर्शनमा उत्रिएका जेन–जी युवाहरूमाथि सुरक्षाकर्मीले गोली प्रहार र लाठीचार्ज गरेपछि धेरै प्रदर्शनकारी घाइते भएका छन् ।
धेरैजसो घाइतेहरूलाई उपचारका लागि बानेश्वरस्थित सिभिल अस्पताल र महाकालस्थित ट्रमा सेन्टरमा लगिएको छ । अस्पतालमा घाइतेहरूको संख्या बढेपछि बेड अभावका कारण उपचारमा समस्या भएको ती अस्पतालले जनाएका छन्। काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार नगर प्रहरीको टोलीले ती अस्पतालमा पुगेर घाइतेहरूको उद्धार र आवश्यक सहयोग गरिरहेको छ ।
मेयर बालेन शाहको निर्देशनमा नगर प्रहरी खटाइएको उनले जानकारी दिएका छन् । घाइतेहरूलाई सिभिल र ट्रमामा उपचारका लागि ठाउँ नपुगेको अवस्थामा अन्य अस्पतालमा लैजान नगर प्रहरी खटिने उनले बताए । प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर १६ जनाको मृत्यु भइसकेको छ । अहिले पनि प्रदर्शनकारीले माइतीघर, बानेश्वर, तिनकुने क्षेत्रमा प्रदर्शन जारी राखेका छन् । प्रशासनले बानेश्वर, मध्यबानेश्वर माइतीघर, शंखमुख क्षेत्रमा कुफ्र्यू आदेश जारी गरे पनि जेन–जी युवाहरूले अवज्ञा गरेर प्रदर्शन जारी राखेका छन् । प्रदर्शनका क्रममा धेरै जना घाइते भएका छन् । घाइतेको संख्या यकिन भएको छैन । त्यस्तै मृत्तकको पहिचान पनि भइसकेको छैन ।