`

भोजपुरमा पशु सेवाको पहुँच पु¥याउँन ‘खोपकर्ता’ परिचालन

Nepal One HD २४ भदौ २०८२ १०:२३
जीवनशैली/स्वास्थ्य

भोजपुर । पशुजन्य रोगको महामारी नियन्त्रण तथा रोकथाम गर्न भोजपुरमा कार्यक्रम सञ्चालनको तयारी थालिएको छ । पशुमा लाग्ने विभिन्न खालका रोग महामारीका रूपमा फैलिन नदिने लक्ष्यले कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

यहाँका नौवटै स्थानीय तहमा रहेका खोपकर्तामार्फत पशु स्वास्थ्य सेवालाई जनतस्तरसम्म विस्तारका लागि परिचालन गरिने भएको छ । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत खोरेत, पिपिआर, स्वाइनफिभर रोग नियन्त्रणका लागि खोप कार्यक्रम सञ्चालन हुने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।

राज्यबाट सञ्चालन हुन लागेको कार्यक्रमलाई प्रभावकारी बनाउन लागि सबै स्थानीय तहका पशु स्वास्थ्य शाखाका कर्मचारी र यसअघि तालिम लिएका खोपकर्तालाई आवश्यक जानकारीसँगै खोप प्रयोगको विषयमा प्रशिक्षण दिएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख पुष्पराज दाहालका अनुसार ग्रामीणस्तरमा खटिने खोपकर्तालाई खोप प्रयोग, खोपको प्रभावकारिता, खोप लगाउने तरिका, सफ्टवेयको माध्यमबाट खोप लगाएका पशुको तथ्याङ्क सङ्कलनलगायतका विषयमा आवश्यक ज्ञान, सीप प्रदान गरिएको छ ।

उक्त प्रशिक्षण कार्यक्रममा सहभागी खोपकर्ताले यहाँ सिकेको सीपका आधारमा जनस्तरसम्म पुगेर किसानलाई घरदैलोमा सेवा प्रदान गरिनेछ । किसानका गाईभैँसीमा खोरेत, खसीबाख्रामा पिपिआर र वङ्गुरका लागि स्वाइनफिभर खोप निःशुल्क प्रदान गरिनेछ । खोरेतको खोप वर्षमा दुई पटक र अन्य खोप वर्षमा एक पटक लगाइनेछ ।

“पशु स्वास्थ्य सेवालाई जनस्तरसम्म पु¥याउन कार्यक्रम सञ्चालनको तयारीमा छौँ” प्रमुख दाहालले भने, “सम्भावित पशुजन्य रोगको महामारीबाट जोगाउन खोप कार्यक्रम सञ्चालन गर्न लागेका हौँ । उक्त कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालनका लागि खोपकर्तालाई आवश्यक ज्ञान, सीप प्रदान गरेका छौँ । अबको केही समयपश्चात उनीहरूलाई गाउँगाउँमा परिचालन गरेर सेवा प्रदान गर्छौँ ।”

जिल्लाका नौवटै स्थानीय तहका पशु शाखाका कर्मचारी र खोपकर्ता गरी ७० जनालाई खोप र यसको प्रयोगका विषयमा जानकारी दिइएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका सहायक पशु स्वास्थ्य अधिकृत मनोज पोखरेलले जानकारी दिए । अधिकांश किसान पशुपालन व्यवसायमा जोडिएका भए पनि पशुमा लाग्ने सामान्य रोग तथा उपचार पद्धतिका विषयमा जानकारी नहुँदा समस्या भोग्दै आएकाले पशु रोगको विषयमा जनचेतना फैलाउने काम भइरहेको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *