`

मुलुकमा चाँडै शान्तिसुरक्षा कायम गर्न मानव अधिकार प्रतिष्ठानको माग

Nepal One HD २६ भदौ २०८२ २१:२६
प्रमुख खबर

काठमाडौँ, २६ भदौः राष्ट्रिय मानव अधिकार प्रतिष्ठानले लोकतन्त्र, मानव अधिकारको रक्षामार्फत मुलुकमा चाँडै शान्ति, सुरक्षा, अमनचयन, आपसी सद्भाव कायम राख्न माग गरेको छ । लोकतन्त्र र मानव अधिकारको सम्मान एवं सुनिश्चत गर्न राष्ट्रपति, आन्दोलनरत पक्ष, नेपाली सेना, राजनीतिक दल, नागरिक समाज र सम्बन्धित सबै पक्षसमक्ष प्रतिष्ठानले जोडदार माग गरेको हो ।

प्रतिष्ठानका अध्यक्ष भवानीप्रसाद खरेलले आज जारी गर्नुभएको वक्तव्यमा जेनजी प्रदर्शनका क्रममा प्रदर्शनकारी र सुरक्षाकर्मीहरू घाइते भएका घटनाको निष्पक्ष छानबिन गर्न पनि माग गरिएको छ ।

प्रदर्शनकारीहरुले मन्त्रालय, अदालत तथा सरकारी कार्यालयहरूमा रहेका अभिलेख, दस्तावेज र महत्वपूर्ण कागजातहरु जलेर नष्ट भएकाले यसमा संलग्नलाई पनि छानबिन गरी कारबाही गर्न माग गरिएको छ ।

प्रहरी हिरासत र जेलमा रहेका हजारौ कैदीबन्दी जेल तोडेर हिँडेकाले सर्वसाधारणको शान्ति सुरक्षामा थप चुनौती देखिएको एवं देशका विभिन्न भागमा लुटपाटका घटना बढेकाले नागरिकहरू डर, त्रास एवं भयको अवस्थामा रहेकाले छिटो शान्ति, सुरक्षाको व्यवस्था गर्न पनि विज्ञप्तिमा माग गरिएको छ ।

आन्दोलनका क्रममा भएको नरसंहार, तोडफोड, आगजनी, लुटपाट, भौतिक आक्रमण र अन्य त्रासदिपूर्ण काम कारबाही नितान्त आपराधिक र जघन्य अपराध भएकाले यसलाई कुनै पनि बहानामा ढाकछोप नगर्न नहुनेमा प्रतिष्ठानले जोड दिएको छ । यी सबै घटनाको छानबिनका लागि उच्चस्तरीय न्यायिक जाँच आयोग गठन गरी प्राप्त सुझावका आधारमा सत्ताको दुरुपयोग गर्ने र विध्वङ्समा संलग्नलाई हदैसम्मको कारबाही गरिनुपर्ने माग पनि अध्यक्ष खरेलको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *