खण्डहर बनेको पार्टी कार्यालय हेर्न पेरिसडाँडा पुगे प्रचण्ड


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड जेनजी आन्दोलनका क्रममा भएको आगजनीबाट ध्वस्त भएको पार्टी कार्यालय अवलोकनका लागि पेरिसडाँडा पुगेका छन्। उनी मंगलबार मध्याह्न पार्टी कार्यालय पुगेका हुन् । जेन जी आन्दोलनले उग्ररूप लिएपछि प्रचण्ड २४ गतेदेखि सेनाको सुरक्षामा थिए। नयाँ अन्तरिम सरकार गठन भएपछि प्रचण्ड पार्टीको काममा फर्किएका हुन्।
जेनजी आन्दोलनपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ आज पहिलोपल्ट सार्वजनिक भएका हुन् । जेनजी युवा आन्दोलनको क्रममा माओवादी केन्द्रीय कार्यालयमा आगजनी भएको थियो । हिजो नेकपा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि पार्टी कार्यालय अवलोकन गरेका थिए । अहिले माओवादी कार्यकर्ताहरुले पार्टी कार्यालय सरसफाइ गरेका थिए । आन्दोलनका क्रममा प्रदर्शनकारीले अध्यक्ष प्रचण्डको ललितपुरको खुमलटार र चितवनस्थित घरमा पनि आगजनी गरेका थिए ।
अन्तरिम सरकार गठनसँगै सुरक्षा स्थिति सहज हुँदै गएपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली बाहेक अरू सबै नेता शिवपुरीको सैनिक तालिम केन्द्रबाट फर्किएका छन् । जेन–जी आन्दोलनको दोस्रो दिन भदौ २४ गते प्रदर्शनकारीहरूले नेताहरूका घर तोडफोड गर्न थालेपछि ओली लगायत तत्कालीन मन्त्री र शीर्ष नेताहरूलाई सुरक्षा निम्ति शिवपुरी लगेर राखिएको थियो ।
हामीले ओली सरकारको मन्त्रिपरिषदमा रहेका केही मन्त्रीसँग उनीहरूको अवस्था बुझ्न सोमबार राति फोन गर्दा उनीहरूले शिवपुरीमा ओली मात्र बाँकी रहेको बताए । बाँकी सबै पूर्वमन्त्री र शीर्ष नेताहरू फर्किसकेको उनीहरूले जानकारी दिए । शिवपुरीबाट फर्के पनि कतिपय उनीहरू घर जान पाएका छैनन् । सबैजसो पूर्वमन्त्री र शीर्ष नेताका घरमा आगजनी र तोडफोड गरिएकाले बस्न सक्ने अवस्था छैन ।
त्यसैले उनीहरू शिवपुरीबाट फर्केर आफ्ना आफन्त वा साथीभाइका घरमा आश्रय लिएर बसेको पाइएको छ । भदौ २४ को घटनापछि निवर्तमान प्रधानमन्त्री ओलीसहित माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत पूर्वमन्त्रीहरूलाई शिवपुरी सैनिक तालिम केन्द्रमा राखिएको थियो । विस्तारै नेताहरु सार्वजनिक हुँदै आगजनी गरिएको पार्टी कार्यालय र घरहरुको अवलोकनमा लागेका छन् ।