`

यूएईले भिजिट भिसापछि वर्किङ भिसा पनि रोक्यो

Nepal One HD १ असोज २०८२ १८:५९
प्रवास

यूएई । संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपाली नागरिकका लागि भिजिट तथा कामदार भिसा बन्द गरेको छ। सोमबारदेखि भिजिट भिसा बन्द गरेको यूएईले मंगलबारदेखि कामदार भिसा पनि रोक लगाएपछि धेरै नेपाली अन्यौलमा परेका छन्।

सुरुमा भिजिट भिसा रोक लगाइएको भए पनि त्यसको भोलिपल्टै कामदार भिसा पनि बन्द हुँदा वैदेशिक रोजगार व्यवसायी र विदेश जान तयारी गरिरहेका युवाहरू समस्यामा परेका छन्। कतिपय म्यानपावर व्यवसायीका अनुसार भिसा प्रक्रियाका लागि कम्पनीहरूले निवेदन पेश गरे पनि आवेदन अस्वीकृत भएको छ।

कहिलेसम्मका लागि बन्द भएको भन्नेबारे ठोस जानकारी भएको छैन् । हालको नेपालको अवस्थालाई मध्यनजर गरेर वर्किङ भिसा पनि बन्द भएको हुनसक्ने आकलन गरिएको छ ।

भिजिट भिसाको नाममा फ्रिल्यान्सर र भिजिट भिसा भन्दै ठग्ने बिचौलियाहरूको ठगी धन्दा मौलाएको समेत थियो । अबुधाबीस्थित नेपाली दूतावासले यसबारे अहिलेसम्म कुनै आधिकारिक जानकारी प्राप्त नभएको जनाएको छ।

कामदार भिसा टाइपिङ भए पनि अन्तिम आवेदन दिन नपाएको र भिसाका लागि दिइसकेका आवेदन अस्वीकृत भएको कम्पनीहरूले बताएका छन्। तर यसको कारणबारे कुनै प्रष्ट जानकारी दिइएको छैन।

भिसा टाइपिङ गर्ने क्रममा आवेदन दिन नसकेको तथा पहिले नै टाइप भएका भिसासमेत रद्द हुन थालेको दुबई र नेपालस्थित विभिन्न कम्पनीहरूले  बताएका छन् ।

वैदेशिक रोजगारीको प्रमुख गन्तव्य मुलुक मानिने यूएईमा हाल करिब ८ लाख नेपाली कार्यरत रहेको बताइन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *