छुट मुआब्जा तथा क्षतिपूर्ति माग गर्दै ज्ञापनपत्र


किमाथाङ्का (सङ्खुवासभा), ३ असोजः अरुण तेस्रो जलविद्युत् परियोजनाअन्तर्गत छ्याङकुटी–दिदिङ प्रवेश मार्गको जिरो प्वाइन्टदेखि २९ किलोमिटर सडकखण्डको छुट मुआब्जा तथा क्षतिपूर्ति माग गर्दै अरुण तेस्रो प्रवेशमार्ग मुआब्जा पीडित सङ्घर्ष समितिले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।
सङ्घर्ष समितिले आज प्रजिअ सृजना थपलियालाई विभिन्न नौ बुँदे मागसहित ज्ञापनपत्र बुझाएका हुन् । प्राविधिक रूपमा लगतकट्टा गर्न छुट भएका जग्गाधनीको लगतकट्टा गरी तत्काल मुआब्जा वितरण गर्नुपर्ने, छुट मुआब्जासम्बन्धी पहिलो सूचनामा नाम प्रकाशित भइसकेको तर सम्बन्धित कार्यालयको प्राविधिक त्रुटिका कारण गोरखापत्रमा नाम छुटेका जग्गाधनीलाई तत्काल मुआब्जा वितरण गर्नुपर्ने माग ज्ञापनपत्रमा उल्लेख गरिएको समितिका अध्यक्ष साङ्घे शेर्पाले बताउनुभयो ।
माग पूरा नभएमा आन्दोलित हुने सङ्घर्ष समितिका उपाध्यक्ष कुमार गुरुङले चेतावनी दिनुभयो । विसं २०८० वैशाख २६ गते छयाङकुटी–दिदिङ सडकखण्डको छुट मुआब्जा जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी संयोजक भएको मुआब्जा निर्धारण समितिले प्रतिरोपनी रु ११ लाख ७५ हजार दिने निर्णय गरेको थियो ।