दसैँ नजिकिएसँगै सङ्खुवासभामा खसीबोकाको किनबेच सुरु


किमाथाङ्का (सङ्खुवासभा), ४ असोजः जिल्ला सदरमुकाम खाँदबारीमा दसैँ नजिकिएसँगै दैनिक उपभोग्य वस्तुका साथै खसीबोकाको व्यापार सुरु भएको छ । किसानले गाउँ–गाउँबाट खसीबोका बिक्रीका लागि बजार ल्याउन थालेका छन् ।
वर्षभरि पालिएका खसीबोका बिक्री गरेर किसानले दसैँ, तिहार जस्ता मुख्य चाडपर्वको खर्च टार्ने गर्दछन् । खाँदबारीमा शनिबार र बुधबार साताको दुई दिन साप्ताहिक हाट लाग्ने भएकाले खसीबोका बिक्रीका लागि यहाँ ल्याउने गरिएको किसान बताउँछन् ।
बजारमा माग बढी हुन थालेपछि खसीबोका बिक्रीमा समस्या नभएको किसानको भनाइ छ । खसीबोका पालन गर्ने किसानलाई जीविकोपार्जनका साथै दसैँ, तिहार जस्ता चाडपर्व मनाउन सहज भएको छ । स्थानीय हाटबजारमा जीउँदो खसीबोका तौल गरेर बिक्री गरिन्छ । साप्ताहिक हाटबजारमा पु¥याएपछि खसीबोका बेच्न समस्या नभएको किसानले बताएका छन् ।
जिल्लाबाट काठमाडौँसहित देशका प्रमुख सहरमा यसअघिका दसैँमा जसरी नै यो वर्ष पनि खसीबोका लैजाने गरिएको यहाँस्थित पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । खसीबोका किन्न व्यापारी आफैँ किसानको घरघरमा पुग्न थालेपछि बिक्रीमा थप सहज भएको केन्द्रका प्रमुख हिमालय पोखरेलले बताउनुभयो ।
जिल्लाबाट गतवर्ष दसैँमा करिब रु ७५ लाख बढीको खसीबोका बिक्री भएको प्रमुख पोखरेलले जानकारी दिनुभयो । यहाँका १० स्थानीय तहमध्ये सबैभन्दा बढी खसीबोका सदरमुकाम खाँदबारीमा बिक्री हुने गरेको उहाँले बताउनुभयो । पछिल्लो समय माग बढेसँगै किसानले उत्पादन गरेका खसीबोका सोझै उपभोक्तासम्म पुग्न भएकाले जिल्लाका किसान उत्साहित भएका छन् ।