`

चाडपर्व नजिकिएसँगै भारत गएका नेपाली घर फर्कँदै

Nepal One HD ४ असोज २०८२ १९:२०
अर्थ समाचार

कैलाली, ४ असोजः नेपालीहरूको महानचाड बडादसैँ तथा दिपावली नजिकिएसँगै रोजगारीका लागि छिमेकी राष्ट्र भारत गएकाहरू घर फर्कन थालेका छन् । कैलालीको त्रिनगर नाकाबाट दिनहुँ नेपाली स्वदेश भित्रिनेक्रम बढ्दै गएको सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमासुरक्षा गुल्म धनगढीले जनाएको छ ।

सीमासुरक्षा गुल्मका अनुसार त्रिनगर सीमा नाकाबाट एक सातामा चार हजार ७७३ जना नेपाली भारतका विभिन्न सहरबाट रोजगारी गरी फर्किएका छन् । प्रत्येक दिन सो नाकाबाट भित्रिनेको सङ्ख्यामा बढ्दै गएको सीमा सुरक्षा गुल्मबाट प्राप्त तथ्याङ्कमा उल्लेख छ ।

डोटीका रमेश साउद सोही नाकाबाट घर फर्कनुभएको छ । लामो समयदेखि भारतको सुरतमा रोजगारी गर्र्दै आउनुभएका उहाँले चाडपर्व मनाउन घर फर्किएको बताउनुभयो । भन्सार सीमा नाकामा यात्रुहरूको सहजताका लागि सीमा सुरक्षा गुल्म निर्माणसँगै घर फर्कँदा सहज भएको उहाँको भनाइ छ ।

“चाडपर्वमा परिवारका सदस्यबीच एकसाथ भेटघाट हुने, मिठामिठा स्थानीय खानाका परिकार खाएर रमाइलो गरी मनाउने गरिन्छ”, साउदले भन्नुभयो, “जसले घर बाहिर लामो समय एक्लो भएर बस्नुपरेको आभासलाई रमाइलोमा परिणत गरिदिन्छ ।”

भारतको बैङ्लोरबाट होटलमा जागिर गरिररहेका कैलालीका शिवराज धामीले बडादसँैंमा टीका थाप्नुका साथै पारिवारिक भेटघाट र खेतीपाती भित्र्याउन आफू घर फर्केको बताउनुभयो । दिल्लीबाट रोजगारी गरी घर फर्कँदै गरेका बझाङका राजेन्द्र गिरीले पनि चाडपर्व मनाउनका लागि घर फर्केको बताउनुभयो ।

यसरी छिमेकीमूलुक भारत जाने सर्वसाधारण नेपाली कोही छोटो समयका लागि, कोही लामो समयका लागि रोजगारी गर्न भारत जाने गर्दछन् । अधिकांश खेतीपाती भएका आफ्नो काम सम्पन्न गरी अन्नबाली नभित्रिञ्जेल भारतमा काम गर्न जाने र फसल प्राप्त हुने समयमा घर आउने गर्दछन् । खेतीपाती नहुनेहरू लामो समयको अन्तरालपछि चाडवार्ड मनाउन घर आउने गरेका पाइन्छन् ।

सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुरलगायत पहाडी जिल्लाका युवा रोजगारका लागि भारतको मुम्बई, दिल्ली, पिथौरागड, नासिक, पञ्जाब, अहमदाबादलगायत ठूला सहरमा जाने गर्दछन् । भिसा आवश्यक नपर्ने र रोजगारी पनि सहजै प्राप्त हुने भएकाले पनि यस क्षेत्रका अधिकांश नेपाली रोजगारीका लागि भारत जाने गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *