`

जनतालाई अनुभूत हुने गरी केहि काम पक्कै गर्छौं : सञ्चारमन्त्री खरेल

Nepal One HD ६ असोज २०८२ १७:३१
समाचार

काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदिश खरेलले आफ्नो कार्यकालमा खरानी र धुलो टकटक्याउँदै जनतालाई अनुभूत हुने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आज (सोमबार) मन्त्रालयमा पदभार ग्रहणपछि उनले यस्तो बताएका हुन् । उनले नेपालको कर्मचारीतन्त्रलाई विश्वास गर्न सकिने देख्न रहर भएको बताएका छन् ।

‘खरानी र धुलो टकटक्याउँदै अब हामी जनतालाई अनुभूत हुने गरी केही पक्कै गर्छौं । यो सरकारमा रहेका हामी जति पनि मन्त्रीहरू छौं, हामीले देश पहिला, जनता पहिला अनिमात्रै अरु कुरा आउँछ । देश र जनता बनाउने कुरामा अघि बढ्छौं,’ खरेलले भने ।

‘स्वतन्त्र बनियो भने, कुनै नेताको गोटी बन्न परेन भने, नेपालको ब्युरोक्रेसीले काम गर्न पायो भने हाम्रा हरेक कर्मचारी दख्खल राख्छन् । लोकसेवा त्यतिकै पास गरेको हुँदैन,’ उनले भने । एउटा मन्त्री मात्रै भएर काम गर्न नसकिने भन्दै उनले कर्मचारीको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

‘सचिवज्यू तपाईंको मन्त्रालयका सबै कर्मचारी अनुभवी हुनुहुन्छ । काम अघि बढाउनुस् । मन्त्रीको तर्फबाट एक ठाउँमा पनि हस्तक्षेप हुँदैन । म तपाईंबाट सिक्छु,’ उनले भने, ‘म मेरो देशको ब्युरोक्रेसीलाई विश्वास गर्न चाहन्छु । मलाई विश्वास छ होइन, विश्वास गर्न चाहन्छु । म हस्तक्षेप गर्दिनँ यो मेरो प्रतिबद्धता हो ।’

मन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा शहीद भएका व्यक्तिलाई सम्झिएर भावुक समेत भएका छन् । उनले आन्दोलनका क्रममा घाइते र मृतकका परिवारलाई सम्झँदै ६ महिनामा मन्त्रीले त्यति धेरै काम गर्न नसिके समेत बताए। त्यस्तै, आगामी फागुन २१ गते हुने निर्वाचन सफलतापूर्वक सम्पन्न गराउनु र भ्रष्टाचारलाई नियन्त्र गरी सुशान कायम गर्नुपर्नेमा उनले जोड दिए । तर भ्रष्टाचारलाई नियन्त्र गरी देशमा सुशान कायम गर्न ५ वर्ष लाग्ने उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *