सार्वजनिक निकायमा स्वदेशी वस्तु प्रयोग : भण्डारीको व्यापक नीति, सिन्हाको फर्निचर केन्द्रीत


काठमाडौँ। अन्तरिम सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हाले संघ, प्रदेश र स्थानीय तहका सरकारी कार्यालयमा नेपालमै उत्पादित काठबाट बनेका फर्निचर मात्र प्रयोग गर्नुपर्ने निर्णय गरेका छन् ।
यसअघि उद्योगमन्त्री रहेका दामोदर भण्डारीले सार्वजनिक निकायहरूमा स्वदेशी वस्तुको प्रयोग अनिवार्य गर्ने कार्यविधि मन्त्रिपरिषद्बाट पारित गरी नेपाल राजपत्रमा प्रकाशित गराइसकेका थिए । भण्डारीले पदभार ग्रहणसँगै स्वदेशी वस्तु प्रयोगसम्बन्धी प्रस्ताव अघि सारेका थिए भने स्वदेशी वस्तु प्रयोग नगर्ने निकायलाई बेरुजु समेत निकाल्ने तयारी गरेका थिए ।
साथै, उनले सबैभन्दा बढी स्वदेशी वस्तु प्रयोग गर्ने निकायलाई पुरस्कार दिने समेत जनाएका थिए ।
तर हालै परिवर्तन भएको अन्तरिम सरकारको कानुन तथा भूमि मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका उद्योग मन्त्री सिन्हाले भने सार्वजनिक निकायमा प्रयोग हुने सामग्रीमध्ये फर्निचरमा मात्र स्वदेशी काठको प्रयोग अनिवार्य गर्ने निर्णय गरेका छन् ।
सिन्हाले स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्दै मुलुकमा सुशासन र स्थायित्व कायम गर्ने लक्ष्यसहित यो निर्णय गरिएको बताएका छन् ।