को हुन् सञ्चारमन्त्री बनेका जगदिश खरेल, किन लाग्यो कांग्रेसको ‘ट्याग’ ?


काठमाडौं । साढे दुई दशकदेखि सक्रिय पत्रकारिता गर्दै आएका जगदिश खरेल इमेज टेलिभिजनमा लामो समयदेखि काम गर्दै आएका पत्रकार हुन् । सञ्चारमन्त्री बन्दासम्मको उनको ‘इमेज’ तयार गर्ने पछिल्लो कार्यक्रम थियो–हटसिट ।
समसामयिक राजनीतिक, सामाजिक विषयमा आधारित त्यही टक शो ‘हटसिट’ बाट उठेर उनी सञ्चारमन्त्रीको सिटमा पुगेका छन् । अब उनका लागि टिभी सेटको होइन नेपालको संक्रमणकालीन राजनीतिलाई पार लगाउने गरी बनेको अन्तरिम सरकारलाई सफल बनाउन भूमिका खेल्नुपर्ने सञ्चारमन्त्रीको हटसिट मिलेको छ ।
उनी टेलिभिजन स्क्रिनमा राजनीतिक नेता, सामाजिक अभियन्ता, प्रशासक देखि न्यायाधीशहरूसम्मलाई बोलाएर तिखा र कडा र चोटिला प्रश्न गर्थे । सामाजिक सञ्जालहरूमा अन्तर्वार्ता दिने व्यक्तिका विचारभन्दा उनले सोधेका प्रश्न बढी भाइरल हुने गरेका थिए । शासकीय जिम्मेवारीमा रहेकाहरूलाई प्रश्न गर्ने खरेल अब वास्तविक रुपमा ती प्रश्नहरूको जवाफ आफैं दिनुपर्ने ठाउँमा आइपुगेका छन् ।
‘मैले आफ्नो सञ्चारकर्ममा वर्षौंदेखि अनेकौं प्रश्न गर्दै आएको थिएँ । आज मलाई एउटा ऐतिहासिक जिम्मेवारी आएको छ । अब म मैले सोधेका प्रश्नहरूका कतिपय जवाफ खोज्ने छु,’ नव नियुक्त सञ्चारमन्त्री खरेलले भन्छन् । उनले आफू अहिले कुन अवस्थामा मन्त्री बनेको हेक्का रहेको बताए । ‘एउटा आन्दोलनबाट परिवर्तनका आवाज सम्बोधन गर्नेगरी यो सरकार बनेको छ’ उनले भने, ‘जेनजीहरूका आवाज र भावनालाई प्रतिनिधित्व गर्दै जिम्मेवारी पूरा गर्नेछु ।’
२०५९ सालमा इमेज च्यानल टिभी सुरुवात हुँदादेखि त्यहिँ काम गर्न थालेका दोलखाका खरेलको सञ्चार कर्म मात्र होइन उनको शैक्षिक पृष्ठभूमि पनि यही विषयमा जोडिएको छ । उनले त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आम सञ्चार स्नातकोत्तर उपाधि हासिल गरेका छन्। हाल चाहिँ उनी अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति’ विषयमा विद्यावारिधि गरिरहेका छन् ।
इमेज टेलिभिजनमा उनले तीन महिना अघि मात्र उनले त्यहाँको समाचार कक्षको सम्पादक रुपमा जिम्मेवारी सम्हालेका थिए । तर केही महिनामै उनलाई त्यो भन्दा ठूलो राजकीय पदको अवसरमा मिलेको छ । राजनीतिक दलहरू भन्दा बाहिरका व्यावसायिक व्यक्तिहरूलाई मन्त्रीको जिम्मेवारीमा ल्याउने योजनाअनुसार प्रधानमन्त्री सुशीला कार्कीले व्यक्तिहरूको पहिचान गरिरहेकी थिइन् ।
त्यसक्रममा खरेल प्रधानमन्त्री कार्कीको नजरमा परे । खरेलकै टक शो हटसिटमा बसेर प्रधानमन्त्री हुनु अघि कार्कीले धेरै पटक अन्तर्वार्ता दिएकी छन् । पत्रकारिता कर्मका त उनी जानकार नै हुन् । तर अहिले उनले सम्हालेको मन्त्रालय त्यतिमा मात्र सीमित छैन ।
सञ्चारमन्त्रीले सरकारको प्रवक्ताको रुपमा पनि काम गर्नुपर्ने हुन्छ । त्यसैले अब उनले खेल्ने भूमिकाले सरकारको सन्देश जनतासम्म पुर्याउने सेतुको रुपमा पनि काम गर्छ । विगतका सञ्चारमन्त्रीकै कारण सरकार विवादमा आउने गरेका इतिहास छन् । जुन उनले चिरेर उनी अघि बढ्छन् कि बढ्दैनन् परीक्षाको घडी सुरु भएको छ । चुनावी सरकार भएकाले चुनावका लागि माहोल बनाउनेदेखि सञ्चार मन्त्रालय मातहतका निकायहरूलाई दैनिक परिचालन गर्ने जिम्मेवारी पनि उत्तिकै महत्वपूर्ण छ ।
सञ्चार मन्त्रालयसँगै जोडिएको सामाजिक सञ्जाल दर्तासम्बन्धी विषयका कारण जेनजी आन्दोलन समेत हुने अवस्था आयो । यसैको बलमा यो सरकार पनि गठन भएको हो । तर सामाजिक सञ्जालसम्बन्धी सरकारको नीति के कस्तो हुने भन्ने अझै केही स्पष्टता जरुरी नै छ । यो विषयलाई उनले आगामी दिनमा कसरी दीर्घकालीन समाधान खोज्न प्रयास गर्छन् त्यो पनि महत्वपूर्ण हुनेछ ।
नेपालका ग्रामीण क्षेत्रहरुमा इन्टरनेट, मोबाइल सेवा, डिजिटल साक्षरता वा सूचना प्रविधिको पहुँच अझै सीमित छ । यो समस्या समाधान गर्दा आवश्यक पर्ने बजेट, पूर्वाधार, निजी र सार्वजनिक साझेदारी, टेक्नोलोजीको पहुँच लगायतका विषय पनि यो मन्त्रालयसँग जोडिएका छन् ।
डेटा सुरक्षा, साइबर अपराध रोकथाम, अनलाइन प्लाटफर्महरूको नियमन लगायतका विषय यही मन्त्रालयका कार्यक्षेत्र हुन् । मन्त्रीको रूपमा यी विषयहरूमा कानूनी, प्राविधिक अनि सामाजिक दृष्टिकोण एकैसाथ समेटेर खरेल कसरी अघि बढाउँछन् त्यो उनका लागि परीक्षाको विषय हो ।
पत्रकार र मिडिया संस्थाहरूलाई सुरक्षित वातावरण सुनिश्चित हुने आधार तयार पार्ने, प्रेस स्वतन्त्रता, मिडिया आचारसंहिता, मिस इन्फरमेसन डिसइन्फरमेसनविरुद्ध लड्ने लगायतका काम पनि सञ्चार मन्त्रालयको काक्र्ष क्षेत्रभित्र पर्छन् । यी कार्यक्षेत्रका काम गर्न खरेलले कति कुशलतापूर्वक सम्पन्न गर्न सक्छन् त्यसकै आधारमा अब उनको मूल्यांकन हुनेछ ।
के हो कांग्रेस क्रियाशिल सदस्यको आरोप ?
पत्रकारिताबाट सरकारमा पुगे लगतै मन्त्री खरेलमाथि एउटा आरोप लागिसकेको छ । गैरराजनीतिक दलको सरकार भनिए पनि नवनियुक्त सञ्चारमन्त्री कांग्रेसका सदस्य हुन् भन्दै सामाजिक सञ्जालहरुमा टिकाटिप्पणी भइरहेका छन् । केहि सञ्चारमाध्यमले त नव नियुक्त सञ्चारमन्त्री खरेल नेपाली कांग्रेसको सक्रिय सदस्य रहेको पुष्टि भएको भन्दै समाचार लेखेका छन् ।
नेपाल तथ्य जाँचका अनुसार खरेल दोलखाको कालिन्चोक गाउँपालिका–नम्बर १ बाट कांग्रेसको क्रियाशील सदस्य रहनुका साथै क्षेत्रीय प्रतिनिधि समेत चुनिएको दावी गरिएको छ । खरेल सञ्चार मन्त्री नियुक्त भएसँगै सामाजिक सञ्जालमा उनी नेपाली कांग्रेसको सदस्य भएको दाबी गर्दै पोस्टहरू भाइरल भएका छन् । यस्तो दाबी सही हो कि होइन भन्ने अन्यौल चिर्न ह्वाट्सएपका सूचनालाई तथ्य–जाँचको कोशिस गरेको पाइएको छ ।
फेसबुकमा अरुण नेपाली लुइँटेलले गत असोज ६ गते चार वटा फोटोको कोलाज बनाउँदै एक पोस्ट गरेका छन् । उक्त पोस्टमा उनले सञ्चारकर्मी खरेल नेपाली कांग्रेसको क्रियाशील सदस्य रहेको दावी गरेका छन् ।
यो तथ्यजाँचमा १ हजार १ सय जनाले रियाक्ट गरेको सो पोस्टमा १८० कमेन्ट छन् । यो पोस्ट १५५ पटक शेयर समेत गरिएको देखिएको छ । खरेल नेपाली कांग्रेसको सदस्य रहेको दावी एक्स (पहिले ट्विटर भनेर चिनिने) मा पनि भाइरल भएको छ । भीम वली नामक एक्स प्रयोगकर्ताले सञ्चारमन्त्री खरेल कांग्रेसको सदस्य रहेको दावी गर्दै पोस्ट गरेका छन् । यो तथ्यजाँचमा १०० जनाले लाइक गरेको उक्त पोस्ट २४ पटक रिपोस्ट गरिएको छ भने १४ हजार भ्युज देखिएको छ ।
के हो क्रियाशील सदस्यताको विषय ?
नेपाली कांग्रेसको विधान अनुसार पार्टीमा दुई किसिमको सदस्यता हुन्छ– सदस्य र क्रियाशील सदस्य । सदस्य भएको एक वर्षपछि निम्न योग्यता पुग्नेलाई मात्र क्रियाशील सदस्यता दिइन्छ ।
के हो तथ्य ?
तथ्य जाँचका लागि नेपाली कांग्रेसको आधिकारिक वेबसाइट सहयोग लिएको देखिन्छ । नेपाली कांग्रेसको आधिकारिक वेबसाइटमा बागमती प्रदेशको दोलखा जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १, प्रदेश सभा क्षेत्र २, कालिञ्चोक गाउँपालिका–७ को क्रियाशील सदस्यहरुको नामावलीको क्रम संख्या १५३ मा जगदीश खरेलको नाम भेटिएको छ ।
त्यसमा उल्लेख भएका जगदिश खरेल सञ्चारकर्मी हुन् कि हैनन् भन्ने विषयमा गुगलमा खोज्ने क्रममा ओटिभी नेपाल नामक न्युजपोर्टलमा एउटा समाचार भेटिएको तथ्य छ । २०७८ असोज ५ गते प्रकाशित समाचारमा दोलखा जिल्लाको कालिञ्चोक गाउँपालिका–७ सुनखानीबाट जिल्ला अधिवेशनमा भाग लिन क्षेत्रीय प्रतिनिधि चुनिएर आएका हुन् भनिएको छ ।
त्यसैगरी ‘नागरिक’ राष्ट्रिय दैनिकमा २०७८ असोज ४ गते प्रकाशित ‘दोलखा कांग्रेस अधिवेशनमा फरक पेशाका नयाँ अनुहार’ शीर्षकको समाचारमा जगदीश खरेलको फोटोसहित लेखिएको छ–प्रख्यात अन्तर्वार्ताकार जगदिश खरेल समेत कांग्रेसको सक्रिय राजनीतिमा जोडिँदै कालिञ्चोक गाउँपालिका–७ सुनखानीबाट जिल्ला अधिवेशनमा भाग लिन क्षेत्रीय प्रतिनिधि चुनिएर आएका हुन् ।
सरकारी अखबार गोरखापत्रको ७ असोज २०८२, मङ्गलबार प्रकाशित समाचारमा सञ्चार मन्त्री खरेल दोलखाको कालिञ्चोक गाउँपालिका, सुनखानी भदौरेका स्थायी बासिन्दा भएको उल्लेख छ । कालिञ्चोक गाउँपालिकाको आधिकारिक वेबसाइट अनुसार उक्त ठाउँ वडा नम्बर ७ मा पर्छ ।
नेपाली कांग्रेसको आधिकारिक वेबसाइटमा कालिञ्चोक गाउँपालिका वडा नम्बर ७ कै क्रियाशील सदस्यहरुको सूचीमा खरेलको नाम रहेकोले उक्त व्यक्ति हालका सञ्चार मन्त्री नै रहेको पुष्टि हुन्छ । अतः सामाजिक सञ्जालमा भाइरल भइरहेको सञ्चारमन्त्री खरेल नेपाली कांग्रेसका क्रियाशील सदस्य भएको दावी सही देखिन्छ । उनी २०७८ असोजमा जिल्ला अधिवेशनका लागि क्षेत्रीय प्रतिनिधि चुनिएका थिए ।